News Desk
महिलातर्फ पाँचौँ वरीयताकी एलेना रेबकिनाले अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छन्। फाइनल खेलमा उनले विश्व नम्बर एक आर्यना साबालेन्कालाई तीन सेटमा पराजित गर्दै आफ्नो करियरकै पहिलो अस्ट्रेलियन ओपन उपाधि उचालेकी हुन्।
रोचक फाइनलमा निर्णायक तेस्रो सेटमा ३–० ले पछि परेकी रेबकिनाले शानदार पुनरागमन गर्दै लगातार पाँच गेम जितिन्। उनले ६–४, ४–६ र ६–४ को सेटसहित जीत निकाल्दै सन् २०२३ को फाइनलमा साबालेन्कासँग व्यहोरेको हारको बदला समेत लिइन्।
यस जितसँगै रेबकिनाले सन् २०२२ को विम्बल्डनपछि आफ्नो करियरको दोस्रो ग्रान्डस्लाम उपाधि जित्न सफल भइन्।
उता, युएस ओपन च्याम्पियन साबालेन्काले पछिल्ला चार ग्रान्डस्लाम फाइनलमध्ये तेस्रो पटक उपाधि गुमाएकी छन्।
पुरुषतर्फ भने स्पेनका युवा स्टार कार्लोस अल्कारेजले आज फाइनलमा अनुभवी सर्बियाली खेलाडी नोभाक जोकोभिचसँग प्रतिस्पर्धा गर्दैछन्। अल्कारेज पहिलो पटक अस्ट्रेलियन ओपनको फाइनलमा पुगेका हुन् भने जोकोभिच २५औँ ग्रान्डस्लाम उपाधिको ऐतिहासिक लक्ष्यमा छन्।
जोकोभिचका लागि यो अस्ट्रेलियन ओपनको ११औँ फाइनल हो।