News Desk
काठमाडौं । आईसीसी मेन्स टी–२० विश्वकपअन्तर्गत आधिकारिक वार्मअप खेलहरू सोमबारदेखि सुरु भएका छन्। उद्घाटन वार्मअप खेलमै अफगानिस्तानले सशक्त प्रदर्शन गर्दै स्कटल्यान्डलाई ६१ रनले पराजित गरेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रन बनायो। ओपनर इब्राहिम जद्रानले ३६ रन जोडे भने चौथो नम्बरमा आएका डाविस रसुलीले उत्कृष्ट ब्याटिङ गर्दै ४६ बलमा ८४ रन प्रहार गरे। रसुलीको पारीमा सात चौका र पाँच छक्का समावेश थिए। मोहम्मद नाबीले पनि ३४ रनको उपयोगी योगदान दिए। स्कटल्यान्डका ज्याक जारविस र मार्क वाटले समान दुई–दुई विकेट लिए।
१८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १९ ओभर ३ बलमा १२३ रनमै अलआउट भयो। ओपनर जर्ज मान्जी र मिचेल जोन्सले २४ रनको साझेदारी गरे। जोन्सले सर्वाधिक २१ रन बनाए भने म्याथ्यू क्रसले पनि २१ रन जोडे।
बलिङतर्फ अफगानिस्तानका अजमतुल्लाह उमरजाईले तीन विकेट लिए। जइउर रहमान र मोहम्मद नाबीले समान दुई–दुई विकेट आफ्नो नाममा गरे। अब स्कटल्यान्डले अर्को वार्मअप खेलमा नामिबियासँग प्रतिस्पर्धा गर्नेछ।