News Desk
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आईसीसी टी–२० विश्वकपअन्तर्गत आफ्नो पहिलो वार्मअप खेल खेल्दैछ। नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग भारतको चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा प्रतिस्पर्धा गर्नेछ। खेल साँझ ५ः१५ बजेदेखि सुरु हुनेछ।
पहिलो वार्मअपपछि नेपालले फेब्रुअरी ५ मा क्यानडाविरुद्ध दोस्रो वार्मअप खेल खेल्ने कार्यक्रम छ। सो खेल पनि चेन्नईमै दिउँसो ३ः१५ बजेदेखि सुरु हुने तालिका तय गरिएको छ।
रोहित पौडेलको कप्तानीमा रहेको १५ सदस्यीय नेपाली टोलीले यस पटक टी–२० विश्वकपमा तेस्रो सहभागिता जनाउन लागेको हो। आईसीसी टी–२० विश्वकप आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ।
समूह चरणमा नेपाल स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिजसँग एउटै समूहमा रहेको छ। नेपालले समूह चरणको पहिलो खेल फेब्रुअरी ८ मा इङल्यान्डसँग खेल्नेछ। त्यसपछि फेब्रुअरी १२ मा इटाली, फेब्रुअरी १५ मा वेष्ट इण्डिज र फेब्रुअरी १७ मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
नेपालका सबै समूह चरणका खेल मुम्बईस्थित ऐतिहासिक वाङखडे स्टेडियममा आयोजना हुनेछन्।