News Desk
काठमाडौं । आरिफ सेख र दीपेन्द्रसिंह ऐरीको शानदार शतकीय साझेदारीको मद्दतले आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गतको पहिलो अभ्यास खेलमा नेपालले संयुक्त अरब इमिरेट्स युएईलाई ७ विकेटले पराजित गरेको छ ।
मंगलबार चेन्नाईस्थित महाराष्ट्र क्रिकेट एसोसिएसन रंगशालामा भएको खेलमा युएईले दिएको १४६ रनको लक्ष्य नेपालले १७ ओभरमा मात्र तीन विकेट गुमाउँदै पूरा गर्यो । चौथो विकेटका लागि आरिफ र दीपेन्द्रले खेल पल्टाउने साझेदारी गर्दै नेपाललाई सहज जित दिलाए ।
नेपालका लागि आरिफ सेखले ३७ बलमा ६१ रनको उत्कृष्ट इनिङ्स खेले भने दीपेन्द्रसिंह ऐरीले ३१ बलमा ५० रन जोड्दै अर्धशतक पूरा गरे । कप्तान रोहित पौडेल १६ रनमा आउट भए । ओपनर कुशल भुर्तेल र आसिफ सेखले समान ८–८ रन बनाए । रोहित र आसिफ रनआउट भएका थिए ।
युएईतर्फ मोहम्मद रोहिनले एक विकेट लिन सफल भए ।
यसअघि टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४५ रन बनाएको थियो । छैटौँ विकेटका लागि सोहेब खान र हर्षित कौसिकले ६८ रनको साझेदारी गरेपछि युएईले प्रतिस्पर्धात्मक योगफल खडा गर्न सकेको थियो ।
सोहेब खान अविजित ३८ रनमा रहे भने हर्षित कौसिक ३५ रनमा आउट भए । ओपनर अर्यान्स शर्मा २५, मोहम्मद जोहेब १९ र अलिशन शराफुले १२ रनको योगदान दिए ।
नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले एक विकेट झारे ।
विश्वकपअघि नेपालले दोस्रो अभ्यास खेल माघ २२ गते क्यानडासँग खेल्नेछ । उक्त खेल पनि चेन्नाईमै हुनेछ । त्यसपछि नेपाली टोली मुम्बई प्रस्थान गर्ने कार्यक्रम छ ।
आईसीसी टी–२० विश्वकप २०२६ मा नेपाल समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेका छन् । नेपालले आफ्नो पहिलो खेल इंग्ल्यान्डविरुद्ध फेब्रुअरी ८ अर्थात् माघ २५ गते खेल्नेछ ।