News Desk
आइसिसी टी–२० विश्वकपको तयारी अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो अभ्यास खेलमा पनि सफलता हात पारेको छ। चेन्नईको एमएसी मैदानमा सम्पन्न अभ्यास खेलमा नेपालले क्यानडालाई ६ विकेटले पराजित गरेको हो।
१६२ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमै ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो। जितमा ओपनर आसिफ शेखको अर्धशतक महत्वपूर्ण रह्यो। उनले रिटायर्ड आउट हुनुअघि दोस्रो विकेटका लागि सन्दीप जिरासँग ८४ रनको साझेदारी गरेका थिए।
आसिफले २९ बलमा ६ चौका र ३ छक्काको मद्दतले ५८ रन जोडे भने सन्दीपले ३० बलमा ४ चौका र १ छक्कासहित ४४ रन बनाए। गुलशन झाले २५ बलमा ५ चौकासहित ३१ रन जोडेका थिए भने दीपेन्द्र सिंह ऐरी ९ रनमा अविजित रहे।
नेपालका लागि अर्का ओपनर कुशल भुर्तेल १२ रन र लोकेश बम ५ रनमा आउट भए।
यसअघि टस जितेर ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ६ विकेट गुमाउँदै १६१ रन बनाएको थियो। क्यानडाका नभिनित धालिवालले ४१ रन तथा श्रेयस मोभाले ३८ रनको योगदान दिए।
नेपालका तर्फबाट सन्दीप लामिछाने र कुशल भुर्तेलले समान २–२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले १–१ विकेट हात पारे। यसअघि पहिलो अभ्यास खेलमा नेपालले युएईलाई ७ विकेटले हराएको थियो।
नेपालले आइतबार इङ्ल्यान्डविरुद्ध खेल्दै टी–२० विश्वकप यात्रा सुरु गर्नेछ। समूह ‘सी’ मा नेपालले इटाली, वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि प्रतिस्पर्धा गर्नेछ।