प्लानिङ ब्वाइज युनाइटेडलाई बुढासुब्बा गोल्डकपको उपाधि
News Desk
Feb-15 तारिख 07:24 बिहान

धरान । बुढासुब्बा गोल्डकप को २६औँ संस्करणको उपाधि प्लानिङ ब्वाइज युनाइटेड ले जितेको छ। धरान रङ्गशालामा सम्पन्न फाइनल खेलमा चर्च ब्वाइज युनाइटेड लाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइज च्याम्पियन बनेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा निर्णायक गोल दोस्रो हाफको ६३औँ मिनेटमा आयो। प्लानिङ ब्वाइजका प्रतापसिंह राईले गरेको एकमात्र गोल नै उपाधि जिताउने निर्णायक क्षण बन्यो। त्यसपछि दुवै टोलीले प्रयास गरे पनि थप गोल हुन सकेन।

चर्च ब्वाइज युनाइटेड लगातार दोस्रो पटक उपविजेतामै सीमित भयो। पहिलो पटक सहभागिता जनाएको प्लानिङ ब्वाइज भने डेब्यु सिजनमै उपाधि जित्न सफल भयो। विजेताले नगद १० लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँ हात पार्‍यो।

फाइनल खेलको ‘म्यान अफ दि म्याच’ प्लानिङ ब्वाइजका पूजन थापा घोषित भए र उनले १० हजार रुपैयाँ प्राप्त गरे। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी प्रतापसिंह राई घोषित हुँदै एक थान स्कुटर पुरस्कार पाए।

उत्कृष्ट गोलरक्षक योगेश धिमाल, उत्कृष्ट डिफेन्डर निङ्मा घिसिङ (दुवै प्लानिङ ब्वाइज), उत्कृष्ट मिडफिल्डर रोहन कार्की र उत्कृष्ट स्ट्राइकर अभियोमी घोष (दुवै चर्च ब्वाइज) घोषित भए। उनीहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

सर्वाधिक गोलकर्तातर्फ प्लानिङ ब्वाइजका प्रतापसिंह राईसँगै झापा–११ का एरोन थापा र राजेश दाहालले जनही १२ हजार रुपैयाँ पुरस्कार हात पारे।

धेरै पढिएको