News Desk
१३४ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १५ दशमलव २ ओभरमा १ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो। ओपनर ब्रान्डोन किंग २२ रनमा नन्दन यादवको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए पनि त्यसपछि कप्तान साई होप र सिमरोन हेटमायरले खेल नियन्त्रणमा लिए। साई होप ६१ रन र सिमरोन हेटमायर ४६ रनमा अविजित रहे। तीन खेलमा अपराजित रहँदै ६ अंकसहित वेष्ट इण्डिज समूह ‘सी’ को शीर्ष स्थानमा रहँदै सुपर आठमा पुगेको हो।
टस जितेर वेष्ट इण्डिजले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनायो। नेपालको सुरुवात फेरि कमजोर रह्यो। नेपाल ४ दशमलव १ ओभरमा १७ रनमा ३ विकेट गुमाएको अवस्थामा पुगेको थियो। पावर प्लेमा नेपालले ३ विकेटको क्षतिमा २२ रन मात्र जोड्न सक्यो। कुशल भुर्तेल १ रनमा बोल्ड भए भने आशिफ शेख ११ रन, लोकेश बम १३ रन, गुलशन झा ११ रन, अरिफ शेख २ रन, कप्तान रोहित पौडेल ५ रन तथा करण केसी १ रनमा आउट भए।
१५ ओभरमा ७३ रनमा ६ विकेट गुमाएको कठिन अवस्थामा दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले इनिङ्स सम्हाल्ने प्रयास गरे। दुवैले सातौँ विकेटका लागि ५४ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपाललाई प्रतिस्पर्धात्मक योगफलसम्म पुर्याए। दीपेन्द्रले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ५८ रन बनाए। उनले ४४ बलमा अर्धशतक पूरा गरेका थिए। यो उनको ट्वान्टी–ट्वान्टी अन्तर्राष्ट्रिय करिअरको ११औँ अर्धशतक हो। जारी विश्वकपमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो भने समग्रमा नेपालको विश्वकप इतिहासमा दोस्रो अर्धशतक हो। यसअघि सन् २०१४ को संस्करणमा सुवास खकुरेलले अफगानिस्तानविरुद्ध अर्धशतक प्रहार गरेका थिए। सोमपाल कामी १५ बलमा ४ चौका प्रहार गर्दै २६ रनमा अविजित रहे।
नेपालले १७ दशमलव ४ ओभरमा ६ विकेट गुमाउँदा १०० रन पूरा गरेको थियो। तर बलिङतर्फ भने वेष्ट इण्डिज प्रभावशाली देखियो। जेसन होल्डरले ४ विकेट लिए भने अकिल हुसेन, म्याथु फोर्ड, समर जोसेफ र रोष्टन चेसले समान १–१ विकेट हात पारे।
समूह ‘बी’ बाट अब इङ्ल्यान्ड, स्कटल्यान्ड र इटाली सुपर आठको प्रतिस्पर्धामा रहेका छन्। लगातार तीन हारसँगै नेपालको विश्वकप यात्रा समूह चरणमै टुंगिएको छ। यद्यपि दीपेन्द्र र सोमपालको साझेदारीले कठिन अवस्थामा पनि सम्भावनाको संकेत देखाएको छ। आगामी प्रतियोगितामा शीर्षक्रमको प्रदर्शन सुधार्नु नै नेपालको प्रमुख चुनौती रहने देखिएको छ।