सान्त्वनाजनक जितसहित नेपालले आइसिसी टी–२० विश्वकप यात्रा समाप्त गर्यो
News Desk
Feb-18 तारिख 09:39 बिहान

नेपालले आइसिसी टी–२० विश्वकप २०८२ मा आफ्नो अभियान सान्त्वनासहित समाप्त गरेको छ। समूह चरणको अन्तिम खेलमा आज नेपाली टोलीले स्कटल्याण्डलाई ७ विकेटले हराउँदै १७१ रनको लक्ष्य ४ बल बाँकी रहँदा पूरा गर्यो।

दीपेन्द्र सिंह ऐरी र गुलशन झाले चौथो विकेटका लागि ७३ रनको ठुलो साझेदारी गर्दै जित सुनिश्चित गरे। दीपेन्द्र ५० रनमा नटआउट रहँदा, गुलशन २४ रनमा नटआउट रहे। दीपेन्द्रले २० औं ओभरको पहिलो बलमै अर्धशतक पूरा गरे, जसमा उनले २३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेका थिए। यसअघि उनले वेष्ट इन्डिजविरुद्ध पनि अर्धशतक बनाइसकेका थिए। गुलशनले १७ बलमा १ चौका र २ छक्का प्रहार गर्दै उत्कृष्ट अन्तिम साझेदारी गरे।

ओपनर कुशल भुर्तेल ४३ रनमा आउट भए, जसमा उनले ३५ बल खेलेर १ चौका र ६ छक्का प्रहार गरेका थिए। अर्का ओपनर आशिफ शेखले २७ बलमा ३३ रन बनाएर क्याच आउट भए। दुबै ओपनरले पहिलो विकेटका लागि ७४ रनको साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे। कप्तान रोहित पौडेल १६ रन बनाएर आउट भए।

स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेटमा १७० रन बनाएको थियो। ओपनर जर्ज मुन्से र माइकल जोन्सले पहिलो विकेटका लागि ८० रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात दिएका थिए। तर कप्तान रोहित पौडेलले १० औं ओभरको अन्तिम बलमा मुन्सेलाई क्याच आउट गराउँदै साझेदारी तोडे। जोन्स ७१ रनमा आउट भए।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए, जसमा उनले २५ रन खर्चे। नन्दन यादवले २ विकेट लिएका थिए भने कप्तान रोहित र कुशलले समान १–१ विकेट लिए।

यो जित नेपालको लागि २०१४ पछि विश्वकपमा पहिलो जीत हो। नेपालले १२ वर्षपछि विश्वकपमा जीत दर्ता गरेको छ। सन् २०१४ मा पहिलो पटक विश्वकप खेल्दा नेपालले हङकङ र अफगानिस्तानविरुद्ध मात्र जीत निकाल्न सफल भएको थियो।

 

धेरै पढिएको