News Desk
मोफसलकै प्रतिष्ठित प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २५औँ संस्करणको उपाधि आयोजक सहारा क्लब पोखराले जितेको छ। पोखरा रंगशालामा आज सम्पन्न फाइनल खेलमा सहाराले जावलाखेल युथ क्लबलाई २–० गोलले पराजित गर्दै १२ वर्षपछि उपाधि हात पारेको हो।
विजेता सहाराले ट्रफीसहित १४ लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता जावलाखेलले सात लाख एक हजार रुपैयाँ र ट्रफीमा सीमित हुनुपर्यो। सहाराले यसअघि विसं २०७० मा पहिलोपटक प्रतियोगिताको उपाधि जितेको थियो।
सहाराको जितमा खेलको २५औँ मिनेटमा फरवार्ड मुकुन्दकुमार निउरेले पहिलो गोल गरे। सुशील लामाले प्रहार गरेको कर्नरलाई उनले आकर्षक हेडमार्फत जाली चुमाएका थिए। पहिलो हाफमा अग्रता बनाएको घरेलु टोलीले दोस्रो हाफमा थप एक गोल गर्यो। खेलको ७३औँ मिनेटमा विदेशी खेलाडी टाय डिनियल बादारुले हेडमार्फत गोल गर्दै टोलीको जित सुनिश्चित गरे।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सहाराका मुकुन्दकुमार निउरे घोषित हुँदै एक थान इलेक्ट्रिक स्कुटर प्राप्त गरे। उत्कृष्ट डिफेन्डर सहाराका बादारु, सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईज क्लबका पापा आइबोउ केबे, उदियमान खेलाडी निउरे, उत्कृष्ट स्ट्राइकर जावलाखेलका धर्वेन्द कुँवर, उत्कृष्ट गोलकिपर सहाराका टीकेन्द्र थापा तथा उत्कृष्ट मिडफिल्डर जावलाखेलका बाउबकर सिसिको घोषित भए।
यसैगरी उत्कृष्ट प्रशिक्षक सहाराका सुनिल रानामगर र ‘फेयर प्ले अवार्ड’ आभा फुटबल क्लबले जितेका छन्। उनीहरू सबैले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।
सहारा क्लब पोखराको आयोजनामा गत माघ २७ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा तीन विदेशी र नौ नेपाली गरी कुल १२ टोलीले प्रतिस्पर्धा गरेका थिए। विजेता तथा उत्कृष्ट खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापा र मुख्य प्रायोजक हिमश्री फुड्सका प्रतिनिधिले पुरस्कार वितरण गरेका थिए।