News Desk
उदयपुरमा सम्पन्न एन्फा महिला च्याम्पियनसिपको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो।
उदयपुरको थरूहट रंगशालामा सम्पन्न खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५५औँ मिनेटमा गीता रानाले गोल गर्दै एपीएफलाई अग्रता दिलाइन्। त्यसपछि ६८औँ मिनेटमा रेणुका नगरकोटीले अर्को गोल थप्दै टोलीलाई २–० को बलियो स्थितिमा पुर्याइन्।
एपीएफले अग्रता लिएको तीन मिनेटपछि आर्मीकी जेनिफर रानाले गोल गर्दै खेलमा फर्कने प्रयास गरेकी थिइन्। तर त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसक्दा एपीएफले जित सुनिश्चित गर्दै उपाधि कब्जा गर्यो।
उपाधिसँगै एपीएफले ७ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता आर्मीले ५ लाख रुपैयाँमा चित्त बुझायो। प्रतियोगितामा एपीएफकी रश्मी कुमारी घिसिङ सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुटसहित ५० हजार रुपैयाँ प्राप्त गरिन्।
त्यस्तै, आर्मीकी दीपा शाही प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी घोषित भई ट्रफीसहित ५० हजार रुपैयाँ प्राप्त गरिन्। उत्कृष्ट गोलकिपर एपीएफकी अञ्जना रानामगर घोषित हुँदै गोल्डेन ग्लोभ्ससहित ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।