जय ट्रफी एलिट कप: पुलिसद्वारा उपाधि रक्षा, आर्मीमाथि रोमाञ्चक जित
News Desk
Mar-20 तारिख 06:54 बिहान

काठमाडौं | नेपाल पुलिस क्लबले जय ट्रफी मेन्स एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि पुनः आफ्नो नाममा लेखाउँदै लगातार दोस्रो पटक च्याम्पियन बन्न सफल भएको छ। राशिद खान र कुशल भुर्तेलबीच भएको ९४ रनको महत्वपूर्ण साझेदारीले पुलिसलाई त्रिभुवन आर्मी क्लबविरुद्ध ४ विकेटको जित दिलायो।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा आर्मीले दोस्रो दिन १७८/९ बाट खेल अघि बढाउँदै थप ४८ रन जोड्दै कुल २२६ रन बनायो। आकाश चन्द र चोटग्रस्त अवस्थामा ब्याटिङ गरेका सोमपाल कामीले अन्तिम विकेटका लागि ४९ रनको साझेदारी गरे। पुलिसका सागर ढकालले उत्कृष्ट बलिङ गर्दै १६.२ ओभरमा ४ विकेट लिए भने करण केसी र ललित राजवंशीले समान ३–३ विकेट हात पारे।

२२७ रनको लक्ष्य पछ्याएको पुलिसले चिया सत्रपछि ५७ ओभरभित्र ६ विकेट गुमाउँदै २३० रन बनाउँदै लक्ष्य पूरा गर्‍यो। सुरुवाती झट्कापछि राशिद खान (८१) र कुशल भुर्तेल (५१) ले तेस्रो विकेटका लागि महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई जिततर्फ डोऱ्याए। कप्तान आरिफ शेखले १४ रन योगदान गर्दा गुलशन झाले १ रन मात्र बनाए। आर्मीका पवन कार्कीले २ तथा शाहव आलमले १ विकेट लिए।

पहिलो इनिङ्समा दुवै टोलीले समान २२१ रन बनाएका थिए। आर्मीका लागि इमरान शेख (५०), भीम सार्की (३९) र कुशल मल्ल (३८) ले योगदान दिएका थिए भने पुलिसका करण केसीले अविजित ७२ रन बनाएका थिए।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने ललित राजवंशी ‘प्लेयर अफ द सिरिज’ घोषित भए। उनले कुल २६ विकेट लिँदै उत्कृष्ट बलरको उपाधि पनि जिते। फाइनलमा मात्र ६ विकेट लिँदै उनले टोलीलाई सहज जित दिलाएका थिए। साथै, बागमती प्रदेशका इशान पाण्डे ३३१ रनसहित उत्कृष्ट ब्याटर घोषित भए।

गत वर्ष वीरगञ्जमा पनि पुलिसले आर्मीलाई पराजित गर्दै उपाधि जितेको थियो, जसले पुलिसको प्रभुत्वलाई निरन्तरता दिएको छ।

धेरै पढिएको