News Desk
काठमाडौं । नेपाली कृकेट टोलीसले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज बलियो टोली स्कटल्याण्ड टोलीसँग प्रतिस्पर्धा गर्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान मा सुरु हुनेछ ।
जारी सिरिजमा दुवै टोलीको यो तेस्रो खेल हो । स्कटल्यान्डले यसअघि नेपाल र अमेरिकालाई समान २ रनको झिनो अन्तरले हराउँदै लगातार दुई जित निकालेको थियो । ती सफलतापछि स्कटल्यान्ड अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
डिफेन्डिङ च्याम्पियन स्कटल्यान्डले ३० खेलबाट ३८ अंक जोडेको छ भने अब टोलीले थप ६ खेल खेल्न बाँकी छ । लिग–२ अन्तर्गत प्रत्येक टोलीले कुल ३६ खेल खेल्ने व्यवस्था रहेको छ ।
अमेरिका २६ खेलमा ३६ अंकसहित दोस्रो स्थानमा रहँदा नेपाल भने २६ खेलबाट २० अंक जोडेर आठ टोली सहभागी प्रतियोगिताको सातौँ स्थानमा रहेको छ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट प्रतियोगितामा स्थान बनाउने प्रावधान छ ।
आजको खेलमा नेपाल विजयी भए क्यानडा र नामिबियालाई पछि पार्दै पाँचौँ स्थानमा उक्लने सम्भावना रहेको छ ।
नेपालले अघिल्लो खेलमा अमेरिकामाथि ९ विकेटको प्रभावशाली जित निकालेको थियो । उक्त खेलमा दीपेन्द्रसिंह ऐरी ले ४ विकेट लिए भने कुशल भुर्तेल र आसिफ शेख ले पहिलो विकेटका लागि १ सय ४५ रनको साझेदारी गरेका थिए ।
कुशल भुर्तेलले अविजित १ सय २० रनको शतकीय इनिङ खेलेपछि नेपालले २०२४–२७ लिग–२ चक्रमा पहिलो पटक अमेरिकालाई पराजित गर्न सफल भएको थियो ।
हालसम्म जारी लिग–२ चक्रमा नेपाल र स्कटल्यान्डबीच पाँच खेल भएका छन् । जसमा दुवै टोलीले समान २–२ खेल जितेका छन् भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।