News Desk
काठमाडौं, साउन ४। स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जित्दै दोस्रो पटक विश्व च्याम्पियन बन्न सफल भएको छ। आइतबार अमेरिकाको न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० ले पराजित गर्दै विश्व फुटबलको सर्वोच्च उपाधि आफ्नो नाममा लेखायो।
निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६औँ मिनेटमा फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए। त्यसअघि स्पेनको एक गोल अफसाइडका कारण रद्द भएको थियो भने अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म खेलमा कायम राखेका थिए।
खेलभर स्पेनले बलमा नियन्त्रण राख्दै लगातार आक्रमण बुने पनि अर्जेन्टिनाको रक्षापंक्ति र गोलरक्षक मार्टिनेज चुनौती बनेका थिए। अर्कोतर्फ, अर्जेन्टिना आक्रमणमा प्रभावहीन देखियो र नियमित समयमा गोलतर्फ उल्लेख्य प्रयास गर्न सकेन। अतिरिक्त समयको सुरुआतमै एन्जो फर्नान्डेज रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो।
यो जितसँगै स्पेनले सन् २०१० पछि दोस्रो पटक विश्वकप उपाधि जितेको हो। उता, २०२२ को विश्वविजेता अर्जेन्टिनाको लगातार दोस्रो उपाधि जित्ने सपना भने अधुरै रह्यो।