News Desk
तेल अभिभ -नेपाल र ईजरायल बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसर पारेर क्याचबल प्रतियोगिता आयोजना गरिएको छ । ईजरायल स्थित नेपाली दूतावासले शनिवार ईजरायली संस्था मामानेतसँगको सहकार्यमा नेपाली र ईजरायली टिम बीच मैत्रीपूर्ण मामानेत - क्याचबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता ३ नेपाली र ३ ईजरायली गरी जम्मा ६ टिम सहभागी थिए। छोटो समयको अभ्यासका बाबजुद ३ वटै नेपाली टिमबाट सन्तोषजनक खेल प्रदर्शन भएको थियो।
उक्त प्रतियोगिताको उद्घाटन सत्रमा ईजरायलको गानेइ टिक्भा नगरपालिकाकी (प्रतियोगितास्थल) की मेयर लिजी डिलारिचा, मामानेत संस्थाका संस्थापक तथा कार्यसमिती अध्यक्ष ओफ्रा अब्राहिमोभिक संस्थाकै सिईओ करिन ईनिज लगायत उपस्थित थिए। उद्घाटन सत्रमा बोल्दै राजदूत डा. अन्जान शाक्यले यस्ता प्रतियोगिता आयोजनाले सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउन टेवा पुग्ने बताईन् । साथै, राजदुत शाक्यले प्रतियोगिताको उद्देश्य महिलाहरुलाई खेलकूदमा संलग्न गराई उनीहरुमा आत्मविश्वास जगाउने रहेको उल्लेख गर्दै ईजरायलमा ठुलो महिला खेलको रूपमा सुपरिचित यस खेललाई नेपालमा विस्तार गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत जनाईन्।
प्रतियोगिताका सम्पूर्ण सहभागीहरुलाई मेडल तथा विजेता टिमलाई ट्रफी प्रदान गरिएको थियो भने कार्यक्रमको समापनसँगै केही नेपाली खानाका परिकारहरु समेत पस्किएको थियो।