चाइनिज ताइपेइविरुद्ध नेपालको शानदार जीत
News Desk
Jun-04 , 2021 तारिख 05:52 बिहान

 

काठमाडौं -नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइ विरुद्ध शानदार जीत हासिल गरेको छ । हिजो् भएको ताइपेइ विरुद्धको खेलमा अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा २-० को नतिजा निकाल्दै नेपालले आफनो जीत शुनिश्चित गरेको हो । 

जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र  ह्यान्ड गरेसँगै नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

सोही अवसरको सदुपयोग गर्दै अञ्जनने नेपाललाई सुरुआतमै अग्रता दिलाए ।अञ्जनको गोलसँगै पहिलो हाफमा १-० अग्रता लिएको नेपाल दोस्रो हाफमा केही डिफेन्सिभ भएको देखिन्थ्यो ।

निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा बायाँतर्फबाट सुमन अर्यालले दिएको क्रसमा नवयुगले ट्यापइन फिनिस गर्दै नेपालको अग्रता दोब्बर पारे। ताइपेइले भने एक गोल पनि फर्काउन सकेन ।

 जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ ।

धेरै पढिएको