ट्रम्पले एक सातामै ७ हजार ३ सय व्यक्तिलाई गरे देश निकाला
News Desk
Jan-30 , 2025 तारिख 12:11 बेलुका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक सातामै ७ हजार ३ सय व्यक्तिलाई देश निकाला गरेका छन। उनको आदेशमा त्यहाँको गृह मन्त्रालयले गैरकानूनी आप्रवासीलाई अमेरिकाबाट सामूहिक रूपमा देश निकाला अभियान थालेको हो।

ट्रम्पको दोस्रो कार्यकालको पहिलो सातामा मन्त्रालयले विभिन्न देशका ७ हजार ३ सयलाई देश निकाला गरेको सूचना दिएको छ।

देशनिकाला गर्दा हतकडी लगाएको भन्दै अमेरिकाको आलोचना भइरहेको छ। साथै देशनिकाला गर्दा सैन्य विमान प्रयोग गरेकोमा पनि विभिन्न प्रश्न उठाइएको छ। देशनिकाला गर्दा सैन्य विमान प्रयोग नगरी सामान्यतया चार्टर्ड विमान प्रयोग गरिन्छन।

आप्रवासीलाई निकाला गर्दा हतकडी र गोडामा नेल लगाएको भन्दै सम्बन्धित देश र त्यहाँका मानवाधिकारवादीले असन्तुष्टि व्यक्त गरेका छन। एबीसी न्यूजका अनुसार  ग्वातेमालाका मानवअधिकारवादी संगठनका जर्ज सान्तोसले भने‚ ‘यसरी देशनिकाला गर्दा सैन्य विमान प्रयोग गरिनु उचित होइन।’

सान्तोसले भने‚ ‘देशनिकाला गर्दा सैनिक अधिकारी र विमान प्रयोग गर्न हुँदैन। साथै उनीहरूलाई हतकडी र नेल लगाउने अधिकार पनि हुँदैन।’

दुई सन्तानकी आमा लेस्ली रामिरेसले भनिन्‚ ‘मेरो हातमा कसेर हतकडी लगाइएको थियो। यसले चोट लागेको छ। यसरी देशनिकाला गर्दा अमेरिकाले विमानमा खाना त दिएको थियो तर हात कम्मरमा बाँधेकाले खान पनि सकिनँ।’ विमानबाट आफ्नो देशमा झार्ने वेला उनीहरूले हतकडी खोलिदिने गरेको उनको कथन छ। आप्रवासीलाई देशनिकाला गर्दा कुनै अर्थमा मानव नभई पशुको व्यवहार गरिने उनले बताइन।

ब्राजिलको विदेश मन्त्रालयले सामाजिक सञ्जाल एक्समा यस्तो ंअपमानजनक व्यवहारंका बारेमा अमेरिकी सरकारसँग स्पष्टीकरण मागेको छ। स्थानीय समयानुसार गत शुक्रवार अमेरिकाबाट ब्राजिलका व्यक्तिलाई देशनिकाला गर्दा हतकडी लगाएकै अवस्थामा विमानबाट अमेजोनसको राजधानी मनौसमा उतारिएको थियो।

विमानमा ८८ जना ब्राजिलका व्यक्ति थिए। उनीहरूलाई छोड्न १६ जना अमेरिकी सुरक्षाकर्मचारी र चालक दलका ८ सदस्य विमानमा थिए।

धेरै पढिएको