News Desk
अमेरिकी राज्य क्यालिफोर्नियाका गभर्नर गेभिन नुस्सामले लस एन्जलसमा आप्रवासीविरुद्धको प्रदर्शन नियन्त्रण गर्न बिना अनुमति राष्ट्रिय गार्ड खटाएको आरोप लगाउँदै तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गर्ने बताएका छन्।
नुस्सामले सामाजिक सञ्जाल एक्समा लेख्दै ट्रम्पले जानाजान हिंसा भड्काउने काम गरेको र त्यसलाई रोक्ने नाममा गैरकानुनी ढंगले सैनिक परिचालन गरेको आरोप लगाएका छन्। उनले भनेका छन्, “डोनाल्ड ट्रम्पले यही चाहन्थे। उनले आगो सल्काउन उक्साए र कानून विपरीत राष्ट्रिय गार्ड तैनाथ गरे। उनले हस्ताक्षर गरेको आदेश केवल क्यालिफोर्नियामा सीमित छैन, यसले उनलाई कुनै पनि राज्यमा गएर यस्तै कदम चाल्न बाटो खोलिदिन्छ। त्यसैले हामी ट्रम्पविरुद्ध मुद्दा हाल्दैछौं।”
हाल लस एन्जलसमा अमेरिकी अध्यागमन एजेन्सीद्वारा अवैध आप्रवासीविरुद्ध चलाइएको अभियानको विरोधमा प्रदर्शन चर्किएको छ। शुक्रबारदेखि अशान्त बनेको सहरमा प्रदर्शनकारीहरूले आगजनीसमेत गरेका छन्।
स्थिति नियन्त्रणमा लिन राष्ट्रपति ट्रम्पले आइतबार २ हजार राष्ट्रिय गार्ड तैनाथ गर्न आदेश दिएका थिए, जसको चौतर्फी आलोचना भइरहेको छ।
ट्रम्पको यो कदमप्रति पूर्व उपराष्ट्रपति कमला ह्यारिसले पनि कडा आपत्ति जनाएकी छिन्। उनले उक्त कार्यलाई लोकतान्त्रिक मूल्य र नागरिक स्वतन्त्रताविरुद्धको हमला भन्दै निन्दा गरेकी छिन्।