अमेरिका–चीन व्यापार वार्ता: दुर्लभ खनिज निर्यात खुलाउने दिशामा सैद्धान्तिक सहमति
News Desk
Jun-12 , 2025 तारिख 01:27 बिहान

लन्डन, जून १० | विश्वका दुई प्रमुख आर्थिक शक्तिहरू अमेरिका र चीनबीच जारी व्यापार तनाव कम गर्नका लागि सैद्धान्तिक सहमति जुटेको छ। लन्डनमा दुई दिनसम्म चलेको उच्चस्तरीय वार्तापछि दुवै पक्षले प्रारम्भिक सम्झौतामा सहमति जनाएको र अब उक्त सम्झौता राष्ट्रपति डोनाल्ड ट्रम्प र राष्ट्रपति सी चिनफिङ समक्ष अनुमोदनका लागि पेश गरिने बताइएको छ।

वार्तापछि पत्रकारहरूसँग कुराकानी गर्दै अमेरिकी वाणिज्यमन्त्री होवार्ड लुटनिकले चीनले दुर्लभ खनिज र चुम्बकको निर्यातमा लगाएको प्रतिबन्ध हट्ने विश्वास व्यक्त गरे। उनले सम्झौताबाट भविष्यमा प्रविधि उद्योगलाई आवश्यक स्रोतहरूको आपूर्ति सहज हुने संकेत दिए।

वार्ताको मुख्य विषयमध्ये एक दुर्लभ खनिज आपूर्तिमा रहेको थियो, जुन स्मार्टफोनदेखि विद्युतीय सवारी निर्माणसम्मका लागि अत्यावश्यक मानिन्छ। यी खनिजहरू प्रविधिमा व्यापक प्रयोग हुने भएकाले यसबारे खुला व्यापार सुनिश्चित गर्नु दुवै पक्षको प्राथमिकता बनेको हो।

यसअघि, जेनेभामा सम्पन्न वार्तामा दुवै देशले एक अर्कामाथि लगाइएको उच्च आयात करलाई ९० दिनका लागि स्थगित गर्ने निर्णय गरेका थिए। तर त्यसपछि पनि दुवै देशले सम्झौताको उल्लंघन भएको भन्दै परस्पर आरोप लगाएका थिए।

अमेरिकाले चीनमाथि दुर्लभ खनिजको निर्यात जानीबुझी सुस्त बनाएको आरोप लगाएको थियो, जबकि चीनले अमेरिकाले एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिसँग सम्बन्धित सेमिकण्डक्टरमा प्रतिबन्ध लगाएको गुनासो गर्दै आएको थियो।

लन्डन वार्ता हुनुभन्दा केही दिनअघि ट्रम्प र सीबीच लामो टेलिफोन संवाद भएको थियो। वार्तापछि चिनियाँ उपवाणिज्यमन्त्री लि चेंगगांगले उक्त संवाद र पूर्वका सहमतिहरूलाई कार्यान्वयनमा ल्याउने खाका तयार पारिएको जानकारी दिए।

ट्रम्प प्रशासनले अस्वस्थ व्यापार अभ्यासको आरोप लगाउँदै चिनियाँ सामानमा १४५ प्रतिशतसम्मको आयात कर लगाएको थियो। जवाफमा चीनले पनि अमेरिकाबाट आयात हुने वस्तुहरूमा १२५ प्रतिशतसम्मको कर लगाएर प्रतिक्रिया दिएको थियो।

तर, जेनेभा वार्तापछि दुवै देश ९० दिनको अस्थायी ‘ट्रेड वार ट्रूस’ मा सहमत भएका थिए, जसअनुसार अमेरिका र चीनले क्रमशः ३० र १० प्रतिशतमा आयात कर घटाएका थिए।

हालको सहमति सकारात्मक संकेत भए पनि व्यापार सम्बन्ध पूर्णरूपमा सामान्य बनाउने मार्ग अझै बाँकी रहेको विश्लेषकहरूको भनाइ छ।

धेरै पढिएको