ट्रम्पसँगको जुहारीपछि मस्क नरमिए, पुराना टिप्पणीहरूप्रति गरे पश्चाताप
News Desk
Jun-12 , 2025 तारिख 11:54 बिहान

गत साता अमेरिकाका पूर्वमित्र तथा राष्ट्रपति डनल्ड ट्रम्पसँग सामाजिक सञ्जालमा तीव्र वाकयुद्धमा उत्रिएका विश्वप्रसिद्ध व्यवसायी इलोन मस्क अहिले भने शान्त देखिएका छन्।

बुधबार आफ्नो प्लेटफर्म एक्समार्फत सार्वजनिक अभिव्यक्ति दिँदै मस्कले ट्रम्पसम्बन्धी केही पुराना पोष्टहरूबारे गहिरो पछुतो भएको जनाएका छन्। उनले ती प्रतिक्रियामा आफू हद नाघेको समेत स्पष्ट रूपमा स्वीकार गरेका छन्।

केही दिनअघि मात्रै संघीय सरकारी कार्यदक्षता विभाग (DOJ) प्रमुखको पदबाट हटाइएपछि मस्कले ट्रम्प प्रशासनको कर नीतिमा चर्को आलोचना गर्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए। उनले कर कटौती र बजेटसम्बन्धी विधेयकलाई 'घृणास्पद' भनी टिप्पणी गरेपछि दुवै पक्षबीचको सम्बन्ध चिसिएको थियो।

त्यसको प्रत्युत्तरमा ट्रम्पले मस्कप्रति सार्वजनिक असन्तुष्टि व्यक्त गरेका थिए। मस्कले पनि आफू नभएको भए ट्रम्प सन् २०२० को निर्वाचनमा हार्ने कुरा स्मरण गराउँदै उनलाई कृतघ्नी करार गरेका थिए। यिनै अभिव्यक्तिहरूले विवाद झनै उत्कर्षमा पुगेको थियो।

ट्रम्पले मस्कको मानसिक असन्तुलनको सङ्केत गर्दै उनलाई डोजबाट हटाउनु आवश्यक रहेको बताएका थिए भने विद्युतीय सवारीको अनुदान र छुट हटाउने निर्णय पनि लिएका थिए। यसको प्रतिशोधमा मस्कले ट्रम्पमाथि महाभियोग लगाउनुपर्ने तर्कप्रति समर्थन जनाएका थिए।

झन् केही समयपछि मस्कले दिवंगत यौन अपराधी जेफ्री एपस्टिनसँग ट्रम्पको सम्भावित सम्बन्ध रहेको भन्दै एक गोप्य फाइलको प्रसङ्ग उठाएका थिए। जवाफमा ट्रम्पले मस्कको व्यवसायसँग भएका सरकारी ठेक्काहरू रद्द गर्ने चेतावनी दिएका थिए।

तर शनिबार ट्रम्पले सार्वजनिक रूपमा “सम्बन्ध समाप्त” भएको घोषणा गरेपछि मस्कको अभिवृत्तिमा परिवर्तन देखिएको हो। त्यसयता मस्कले ट्रम्पविरोधी केही विवादास्पद ट्वीटहरू मेटाइसकेका छन्।

मस्कले अब यो विग्रिएको सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् भन्ने अनुमान निकट स्रोतले व्यक्त गरेका छन्। रोयटर्सले पनि मस्कको पछिल्लो व्यवहार हेर्दा उहाँ नरमिएको देखिएको उल्लेख गरेको छ।

 

धेरै पढिएको