News Desk
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले चीनसँग बहुप्रतीक्षित व्यापार सम्झौता सम्पन्न भएको औपचारिक घोषणा गरेका छन्। लन्डनमा सम्पन्न दुईदिने उच्चस्तरीय वार्तापछि ट्रम्पले सामाजिक सञ्जाल 'ट्रुथ सोसल'मार्फत सम्झौताको खाका सार्वजनिक गर्दै आफू र चिनियाँ राष्ट्रपति सी चिनफिङको अनुमोदनपछि मात्र सम्झौता अन्तिम रूप लिने बताएका छन्।
ट्रम्पले जानकारी गराएअनुसार चीनले अबदेखि अमेरिकालाई अत्यावश्यक दुर्लभ खनिज र चुम्बकहरू अवरोधरहित रूपमा आपूर्ति गर्नेछ। जवाफस्वरूप अमेरिका चिनियाँ विद्यार्थीहरूलाई आफ्ना कलेज तथा विश्वविद्यालयमा अध्ययनको अवसर दिनेछ।
सम्झौताअनुसार व्यापारिक करतर्फ पनि महत्वपूर्ण सहमति भएको छ। चीनले अमेरिकाबाट आयात गरिने वस्तुमा अब १० प्रतिशत आयात कर मात्र लगाउनेछ भने अमेरिका चीनबाट आयात हुने वस्तुहरूमा ५५ प्रतिशत कर लगाउनेछ।
यसअघि लन्डन वार्तामा सहभागी अधिकारीहरूले दुई देशबीचको चर्किएको व्यापार तनाव अन्त्य गर्नेसम्बन्धी प्रारम्भिक सहमति भएको जानकारी गराएका थिए। सम्झौताको पूर्ण कार्यान्वयन भने राष्ट्रपतिको अनुमोदनपछि मात्र हुनेछ।
गत अप्रिल महिनामा अमेरिका र चीनबीच व्यापार युद्ध उत्कर्षमा पुगेको थियो, जब अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशतसम्म आयात कर लगाएको थियो र चीनले त्यसको प्रत्युत्तरमा अमेरिकी वस्तुमा १२५ प्रतिशतसम्म कर लगाएको थियो।
यही तनाव कम गर्न अघिल्लो महिना जेनेभामा भएको वार्तामा दुबै पक्षले उच्च आयात करलाई अस्थायी रूपमा—९० दिनका लागि—स्थगित गर्न सहमति जनाएका थिए। त्यस अवधिमा कर क्रमशः ३० प्रतिशत (अमेरिका) र १० प्रतिशत (चीन) मा झारिएको थियो। तथापि, दुबै पक्षले एकअर्कालाई सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै आएका थिए।
अमेरिकाले चीनमाथि दुर्लभ खनिजहरूको निर्यातमा कृत्रिम अवरोध गरेको आरोप लगाएको थियो भने चीनले अमेरिका विरुद्ध कृत्रिम बौद्धिकता (AI) सम्बन्धी सेमिकण्डक्टर निर्यातमा निषेध लगाएको गुनासो गरेको थियो।
यो ताजा सम्झौता गत साता राष्ट्रपति ट्रम्प र राष्ट्रपति सीबीच भएको लामो टेलिफोन संवादपछि सम्भव भएको हो, जसपछि लन्डन वार्ता आयोजना गरिएको थियो।