यमनमा मृत्युदण्डको सजाय सुनाइएकी भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड हाललाई रोकियो
News Desk
Jul-15 , 2025 तारिख 09:59 बेलुका

नयाँ दिल्ली | यमनमा मृत्युदण्डको सजाय सुनाइएकी केरलाकी नर्स निमिषा प्रियाको मृत्युदण्ड कार्यान्वयन हाललाई स्थगित गरिएको छ। उनलाई जुलाई १६ मा मृत्युदण्ड दिइने तयारी गरिएको थियो, तर अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक प्रयासपछि सजाय रोकिएको भारतीय समाचार संस्था एएनआईले स्रोतलाई उद्धृत गर्दै जानकारी दिएको हो।

मिडिया रिपोर्टहरूका अनुसार, विभिन्न मानव अधिकार समूहहरू र प्रभावशाली धार्मिक व्यक्तित्वहरूको सक्रियतापछि यो निर्णय लिइएको हो। खासगरी यमनका ख्यातिप्राप्त सुफी विद्वान शेख हबीब उमर बिन हाफिज र भारतका ग्रान्ड मुफ्ती एपी अबुबकर मुसलियारको पहलमा पीडित पक्षसँग वार्ता भइरहेको छ।

यमनको सर्वोच्च अदालतका एक न्यायाधीश र मृतक तलाल अब्दो महदीका भाइ पनि वार्तामा संलग्न रहेको जनाइएको छ। शेख हबीबलाई भारतका मुफ्ती मुसलियारले वार्तामा सहभागी गराएका हुन्। यो पहिलोपटक हो जब पीडित पक्षका सदस्य वार्तामा सहभागी हुन सहमत भएका छन्।

वार्ता शरिया कानुनअन्तर्गत भइरहेको छ, जसअनुसार पीडित परिवारले दोषीलाई माफ गर्न वा ब्लड मनी (रक्तपुँजी) स्वीकार गर्न कानुनी अधिकार राख्दछ।

निमिषा सन् २०१७ देखि यमनको जेलमा छिन्। उनीमाथि यमनी नागरिक तलाल अब्दो महदीलाई अत्यधिक मात्रा औषधि दिएर हत्या गरेको आरोप छ। उनीहरू एक निजी क्लिनिकमा साझेदार थिए। निमिषाले महदीले आफूमाथि मानसिक र शारीरिक यातना दिएको र राहदानी समेत कब्जा गरेको दाबी गरेकी थिइन्।

निमिषालाई मृत्युदण्डबाट जोगाउन विगत केही वर्षदेखि विभिन्न कूटनीतिक र कानुनी पहल जारी छन्। हालको स्थगनलाई महत्त्वपूर्ण राहतको रूपमा हेरिएको छ।

धेरै पढिएको