News Desk
वासिङ्टन | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आक्रामक भन्सार नीतिका कारण व्यापारिक साझेदारहरूबाट भारी महसुल उठाएका छन्। हालसम्म झण्डै ५० अर्ब अमेरिकी डलर भन्सारमार्फत संकलन गरिएको छ, जसले ट्रम्पको नीतिलाई आलोचकहरूले गरेभन्दा फरक नतिजा दिएको देखिएको छ।
ट्रम्पको व्यापार युद्ध घोषणापछि चार महिनाको अवधिमा अमेरिकाले दोस्रो त्रैमासमा मात्र ६४ अर्ब डलर भन्सार शुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४७ अर्ब डलरले बढी हो। आलोचकहरूले ट्रम्प सधैँ पछाडि हट्ने भन्दै नीतिको टिकाउपनमा शंका गरे पनि उनले उठाएको महसुलले भने फरक तस्वीर प्रस्तुत गरेको छ।
चीन र क्यानडाले मात्रै हालसम्म अमेरिकी नीतिको जवाफस्वरूप प्रतिकारात्मक भन्सार लगाउने साहस देखाएका छन्। चीनले अमेरिकी वस्तुमा भन्सार त लगाए पनि त्यसबाट उल्लेखनीय राजस्व आर्जन हुन सकेको छैन। मे महिनाको तथ्यांकअनुसार चीनको भन्सार आयमा अघिल्लो वर्षको तुलनामा केवल १.९ प्रतिशत मात्र वृद्धि भएको छ।
क्यानडाले दोस्रो त्रैमासको भन्सार विवरण अझै सार्वजनिक गरिसकेको छैन। यता, युरोपेली युनियन (EU) ले जवाफी भन्सारको योजना बनाए पनि कार्यान्वयन स्थगित गरेको छ। बाँकी साझेदार राष्ट्रहरू ट्रम्पको सम्भावित थप भन्सार कदमबाट डराएर प्रतिवाद गर्न अझै हिच्किचाइरहेका छन्।
विज्ञहरूका अनुसार ट्रम्पको भन्सार नीतिको असर अमेरिकी उपभोक्तामै मात्र सीमित छैन। विश्वव्यापी ब्रान्डहरूले उत्पादन लागत बढेसँगै त्यसको भार अन्तर्राष्ट्रिय बजारमा समेत बाँड्न थालेका छन्। जसले वैश्विक मूल्य श्रृंखलामा असर पारिरहेको विश्लेषण गरिएको छ।