इजरायलले युद्धविराम प्रस्ताव अस्वीकार गरेको हमासको आरोप, अल-कासाम ब्रिगेडद्वारा चेतावनी
News Desk
Jul-19 , 2025 तारिख 12:54 बेलुका

गाजा सशस्त्र संघर्षका बीच हमासका सैन्य शाखा अल-कासाम ब्रिगेडका प्रवक्ता अबु ओबैदाले इजरायलले व्यापक युद्धविरामको प्रस्ताव अस्वीकार गरेको आरोप लगाएका छन्।

शुक्रबार सार्वजनिक गरिएको करिब २० मिनेट लामो भिडियो सन्देशमार्फत उनले हमासले विगत केही महिनायता सबै बन्दीहरूलाई एकैचोटि रिहा गर्ने प्रस्ताव अघि सारेको दाबी गरे। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र उनका कट्टरपन्थी मन्त्रीहरूबाट उक्त प्रस्ताव ठाडै अस्वीकार गरिएको उनले आरोप लगाए।

अबु ओबैदाले चेतावनी दिँदै भने, "यदि कतारमा जारी अप्रत्यक्ष वार्ता इजरायलको असहयोगका कारण निष्फल भयो भने, हमासले अहिले छलफलमा रहेको ६० दिने आंशिक सम्झौतालाई पनि अस्वीकार गर्नेछ।" सो आंशिक प्रस्तावअनुसार १० जना इजरायली बन्दीहरूलाई रिहा गर्ने तयारी गरिएको थियो।

प्रवक्ता ओबैदाका अनुसार हमासले हालसम्म करिब ५० जना इजरायली नागरिकलाई गाजामा नियन्त्रणमा राखेको छ, जसमध्ये लगभग २० जना अझै जीवित रहेको अनुमान गरिएको छ।

मार्च यता पहिलोपटक सार्वजनिक रूपमा देखिएका ओबैदाले हमासका लडाकुहरू दीर्घकालीन युद्धका लागि तयारी अवस्थामा रहेको बताए। साथै, गाजाभित्र प्रवेश गरेका इजरायली सैनिकहरूलाई लक्षित गर्दै छापामार हमला जारी राख्ने चेतावनी पनि दिए।

यसैबीच, शुक्रबार मात्रै गाजामा इजरायली हवाई र स्थल आक्रमणमा परी कम्तीमा ४१ जना प्यालेस्टिनी नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मध्यपूर्वमा पुनः तनाव चुलिँदै जाँदा युद्धविरामका सम्भावनाहरू झन् जटिल बन्दै गएका छन्।

धेरै पढिएको