बंगलादेशमा सैन्य विमान स्कुलमा खस्दा १९ को मृत्यु, १६४ घाइते
News Desk
Jul-22 , 2025 तारिख 12:54 बेलुका

बंगलादेशको राजधानी ढाकास्थित दियाबारी क्षेत्रमा सोमबार दिउँसो बंगलादेशी वायुसेनाको एफ-७ बीजीआई प्रकारको ट्रेनर विमान दुर्घटनाग्रस्त हुँदा माइलस्टोन स्कुल एन्ड कलेजमा भीषण दुर्घटना भएको छ। घटनामा १९ जनाको ज्यान गएको छ भने कम्तीमा १६४ जना घाइते भएको स्थानीय अधिकारीहरूले जनाएका छन्।

घटनापछि बंगलादेशको अन्तर-सेवा जनसम्पर्क (आईएसपीआर) कार्यालयले विज्ञप्ति जारी गर्दै प्रारम्भिक विवरण सार्वजनिक गरेको छ। विज्ञप्तिमा भनिएको छ, “उडान भरेको केही समयमै विमानमा प्राविधिक समस्या देखा परेको थियो। दुर्घटनाको विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ।”

आईएसपीआरका अनुसार विमानका पाइलट फ्लाइट लेफ्टिनेन्ट मोहम्मद तौकीर इस्लामले जनधनको क्षति कम गर्न प्रयासरत रहे। उनले विमानलाई घना बस्तीबाट अन्यत्र मोड्ने भरमग्दुर प्रयास गरे तापनि दुर्भाग्यवश, उक्त विमान माइलस्टोन स्कुल एन्ड कलेजको दुईतले भवनमा खसेको हो। घटनामा पाइलट इस्लामको पनि मृत्यु भएको पुष्टि गरिएको छ।

यो दुर्घटनाले बंगलादेशभर शोक र त्रास फैलाएको छ। उद्धार कार्य जारी रहेको र घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालहरूमा भर्ना गरिएको बताइएको छ।

धेरै पढिएको