भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्ड यमनले रद्द गर्‍यो
News Desk
Jul-29 , 2025 तारिख 11:55 बिहान

भारतीय नर्स निमिषा प्रिया विरुद्ध यमनले सुनाएको मृत्युदण्डको फैसला अन्ततः रद्द गरिएको छ। राजधानी सानामा भएको एक उच्चस्तरीय बैठकले उक्त निर्णय गरेको हो।

यो जानकारी भारतीय ग्रान्ड मुफ्ती कन्थापुरम एपी अबुबकर मुसलियारको कार्यालयमार्फत सोमबार राति सार्वजनिक गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्कर ले जनाएको छ। तर भारतीय विदेश मन्त्रालयका अधिकारीहरूले भने यसबारे औपचारिक पुष्टि गरेका छैनन्।

केरला राज्यकी ३७ वर्षीया निमिषा प्रिया सन् २०१८ मा एक यमनी नागरिकको हत्या अभियोगमा दोषी ठहर भएकी थिइन्। उनलाई जुलाई १६ मा मृत्युदण्ड दिनु पर्ने घोषणा गरिएको थियो। यद्यपि, त्यसअघि जुलाई १५ मा सजायलाई अस्थायी रूपमा स्थगित गरिएको थियो।

यसपछि भारतीय ग्रान्ड मुफ्ती एपी अबुबकर मुसलियार र यमनका प्रतिष्ठित सुफी विद्वान शेख हबीब उमर बिन हाफिजबीच निर्णायक वार्ता भएको थियो। सो वार्तामा यमनको सर्वोच्च अदालतका न्यायाधीशहरू र मृतकका नजिकका आफन्त समेत सहभागी थिए। मृतकको परिवारको सहमतिले शरिया कानूनअनुसार माफी दिने बाटो खुलेको हो। शरिया कानूनले मृतकका आफन्तलाई अपराधीलाई क्षमा गर्ने अधिकार दिन्छ — चाहे त्यो बिना सर्त होस् वा ब्लड मनी (रक्तपुँजी) को आधारमा।

घटनाक्रमको पृष्ठभूमि यस प्रकार छ:

  • २००८ मा पलक्कड (केरलाकी) निमिषा प्रिया १९ वर्षको उमेरमा कामको सिलसिलामा यमन पुगेकी थिइन्। त्यहाँ उनले राजधानी सानाको सरकारी अस्पतालमा नर्सको जागिर पाएकी थिइन्।

  • २०११ मा उनी भारत फर्किएर कोच्ची निवासी टमी थोमससँग विवाह गरिन् र दुवै जना फेरि यमन गएका थिए। टमीले त्यहाँ इलेक्ट्रिसियन सहायकको रूपमा काम पाए, तर तलब पर्याप्त थिएन।

  • २०१२ मा छोरी मिसालको जन्म भए पनि परिवारको आर्थिक स्थिति कमजोर थियो। टमी छोरीसहित भारत फर्किएपछि निमिषाले यमनमै बस्दै क्लिनिक खोल्ने योजना बनाइन्। तर यमनी कानुनअनुसार उनलाई स्थानीय साझेदार चाहिन्थ्यो।

  • यस क्रममा निमिषा महदी नामका कपडा व्यापारीसँग सम्पर्कमा आइन्, जसकी पत्नीलाई उनले प्रसूति सेवामा सहयोग गरेकी थिइन्।

  • २०१५ मा निमिषा भारत छोरी भेट्न आइन्। महदी पनि उनसँगै भारत आए र त्यहीँ उनले निमिषाको विवाहका तस्बिर चोरेर आफू नै श्रीमान भएको दाबी गरे।

  • भारतबाट फर्किएपछि निमिषाले करिब ५० लाख रुपैयाँ लगानी गरेर क्लिनिक खोलिन्। उनले श्रीमान र छोरीलाई यमन बोलाउने कानुनी प्रक्रिया थालेकी थिइन्, तर त्यसबेला गृहयुद्ध सुरु भयो र उनीहरू यमन जान सकेनन्।

निमिषाले महदीबाट बारम्बार मानसिक र शारीरिक यातना भोग्नुपरेको र त्यसकै प्रतिक्रियामा हत्या भएको दाबी गर्दै आएकी छिन्।

यमनमा विदेशी महिला, त्यो पनि गृहयुद्धको चपेटामा परेका मुलुकमा कानुनी न्याय पाउनु गाह्रो मानिने भए पनि भारतीय धार्मिक नेताहरू र स्थानीय इस्लामिक विद्वानहरूबीच भएको वार्ताले अन्ततः मृत्युदण्डको फैसला खारेज गराएको हो।

 

धेरै पढिएको