रुसको सुदूरपूर्वस्थित कामचटका प्रायद्वीप नजिकै ८.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प
News Desk
Jul-31 , 2025 तारिख 12:38 बेलुका

सन् २०२५ जुलाई ३० मा रुसको सुदूरपूर्वस्थित कामचटका प्रायद्वीप नजिकै ८.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। यो भूकम्प पेट्रोपाभ्लोभ्स्क-कामचात्स्कीबाट करिब ११९ किलोमिटर दक्षिणपूर्वमा केन्द्रित थियो र यसको गहिराइ १९–२० किलोमिटर रहेको थियो। भूकम्प अत्यन्तै विनाशकारी हुनुका साथै सुनामी उत्पन्न गर्ने प्रकृतिको थियो।

भूकम्प त्यस्तो भूगर्भिक संरचना (मेगाथ्रस्ट फल्ट) मा उत्पन्न भएको थियो जहाँ प्रशान्त प्लेट उत्तर अमेरिकी प्लेटको मुनि घुस्दै जान्छ। यस्तो संरचना विश्वमै सबैभन्दा खतरनाक भूकम्प सृष्टि गर्ने क्षेत्र मानिन्छ। यो भूकम्प सन् २०११ को जापानको तोहोकु भूकम्पपछिको सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।

सेभेरो-कुरील्स्क क्षेत्रमा ३ देखि ५ मिटर अग्ला सुनामीका छालहरूले बन्दरगाह र माछा प्रशोधन केन्द्रहरू डुबानमा पारेका छन्। शुम्शु टापुस्थित एक क्याम्पग्राउन्ड पूर्ण रूपमा बगाएको छ। करिब २,००० बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सारिएको थियो।

पेट्रोपाभ्लोभ्स्क-कामचात्स्की क्षेत्रमा समेत संरचनागत क्षति भएको छ। त्यहाँको एक बालबालिका केन्द्रमा क्षति पुगेको छ, विद्युत आपूर्ति अवरुद्ध भएको छ र मानिसहरू भवनबाट भाग्ने क्रममा घाइते भएका छन्। केहीले झ्यालबाट हामफालेका थिए भने नयाँ विमानस्थल टर्मिनलमा पनि मानिसहरू घाइते भएका छन्।

सयभाग्यवश, हालसम्म मानवीय मृत्युको कुनै पुष्टि भएको छैन। उद्धार टोलीहरूले समयमै गरिएको सुरक्षित स्थानान्तरण र भूकम्प प्रतिरोधी संरचनाका कारण ठूलो जनधनको क्षति टरेको बताएका छन्।

सुनामीको खतरा पुरै प्रशान्त क्षेत्रभर फैलिएको थियो। जापान, अलास्का, हवाई, फ्रेन्च पोलिनेसिया, चिली, न्युजिल्याण्ड र अमेरिका पश्चिमी तटमा समेत चेतावनी जारी गरिएको थियो। जापानमा करिब २० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो र १.३ मिटर उचाइका छालहरू देखा परेका थिए।

हवाईमा १ देखि १.७ मिटरका छालहरूले माउइ र ओहाहुजस्ता क्षेत्रहरू प्रभावित पारेका थिए। त्यहाँ ओप्रा विन्फ्रेले आफ्नो निजी सडक खोल्दै करिब ५० वटा गाडीलाई उच्च स्थानतर्फ सुरक्षित रुपमा जान दिएकी थिइन्।

भूकम्पको शक्तिबारे विज्ञहरूले यो भूकम्पले करिब एक ट्रिलियन किलोग्राम TNT बराबर ऊर्जा उत्सर्जन गरेको बताएका छन्। उनीहरूले अझै पनि ६.९ सम्मका परकम्पहरू आउन सक्ने चेतावनी दिएका छन्, र "रिङ अफ फायर" क्षेत्रका भूकम्पीय अस्थिरता अझै केही हप्तासम्म रहने अनुमान गरिएको छ।

यस भूकम्पपछि नजिकैको क्ल्युचेभ्स्कोई ज्वालामुखी विस्फोट भएको छ। यो विस्फोट भूकम्पको कम्पनकै कारण भएको अनुमान गरिएको छ। ज्वालामुखीबाट लावा निस्केको र आगोको उज्यालो राति स्पष्ट देखिएको बताइएको छ।

कामचटका यो भू-भाग भूकम्पीय हिसाबले निकै संवेदनशील मानिन्छ। तर, भूकम्पजस्तो विनाशकारी प्राकृतिक प्रकोपपछि पनि सतर्कता, समयमै गरिएका उद्धार कार्य, र मजबुत पूर्वाधारका कारण ठूलो जनधन क्षति टार्न सकिएको छ। अधिकारीहरूले अझै परकम्प र सम्भावित खतरा हेरी राहत तथा सुरक्षा कार्यलाई निरन्तरता दिइरहेका छन्।

धेरै पढिएको