तेल खरिदको विषयमा मोदीलाई ट्र​म्प​को दबाब
News Desk
Aug-05 , 2025 तारिख 12:06 बेलुका

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई रुसी तेल खरिदको विषयमा दबाब दिइरहेका छन्। तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दबाबलाई बेवास्ता गर्दै रुसी तेल आयात यथावत् राख्ने संकेत दिएका छन्।

भारत सरकारले हालसम्म आफ्ना तेल प्रशोधन कम्पनीहरू — चाहे ती सरकारी होऊन् वा निजी — लाई रुसी तेल खरिदमा कुनै रोक लगाएको छैन। उनीहरूलाई आफूलाई उपयुक्त लाग्ने मुलुकबाट कच्चा तेल ल्याउन छुट दिइएको छ।

गत शनिबार प्रधानमन्त्री मोदीले भारतको आर्थिक हित सुरक्षाका लागि विश्वको अनिश्चित परिस्थितिमा चनाखो रहनु आवश्यक भएको बताए। त्यसको केही दिनअघि ट्रम्पले भारतमाथि २५ प्रतिशत भन्सार शुल्क र रुसी तेल खरिद गरेकोमा थप जरिवाना लगाउने चेतावनी दिएका थिए।

त्यससँगै मोदीले स्वदेशी उत्पादनप्रति जनतालाई प्रेरित गर्दै ‘भारतीय सामान प्रयोग गरौं’ भन्ने आह्वान पनि गरेका छन्।

युक्रेन युद्ध अन्त्य गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाब बढाइरहेका ट्रम्प अहिले भारतलाई मुख्य निशानामा पारिरहेका छन्। उनका अनुसार भारतले एकतर्फी रूपमा अमेरिकाबाट आयातमा उच्च भन्सार लगाएको, रुसबाट तेल किनेर युद्धमा अप्रत्यक्ष सहयोग गरेको, र ब्रिक्स जस्ता समूहमा संलग्न भएर अमेरिकाविरुद्ध भूमिका खेलेको छ।

रुस–भारत सम्बन्धप्रति कटाक्ष गर्दै ट्रम्पले भनेका छन्, "तिनीहरू आफ्नो मरिरहेको अर्थतन्त्र सँगै डुबाउँन्, मलाई कुनै चासो छैन।"

पछिल्लो दशकमा भारतले रणनीतिक रुपमा पश्चिमतिर नजिकिँदै जाँदा अमेरिकाले दिल्ली र मस्कोबीचको पुरानो सम्बन्धलाई खासै महत्व दिएको थिएन। किनभने अमेरिका भारतलाई एसियामा चीनको सन्तुलनकारी शक्तिका रुपमा देख्न चाहन्थ्यो।

तर हाल पुटिनविरुद्ध कठोर कदम चाल्ने रणनीतिमा ट्रम्पले अघिल्लो नीतिलाई छाडेको प्रष्ट देखिन्छ। उनले रुसको अर्थतन्त्र धराशायी पार्न भारतमाथि पनि आर्थिक दबाब बढाउँदै लगेका छन्, यद्यपि अबसम्मका सबै नाकाबन्दीले अपेक्षित परिणाम नदिएको देखिएको छ।

 

धेरै पढिएको