News Desk
नयाँ दिल्ली | आयात कर वृद्धि र रूसी तेल खरिदसम्बन्धी विवादले अमेरिकासँग कूटनीतिक दूरी बढिरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चीन भ्रमणको तयारीमा छन्।
आगामी अगस्ट ३१ देखि सेप्टेम्बर १ सम्म चीनको तियान्जिनमा आयोजना हुने सांघाई को-अपरेशन अर्गनाइजेसन (SCO) को शिखर सम्मेलनमा सहभागी हुन मोदीले तयारी थालेका हुन्। सो अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ताको सम्भावना समेत रहेको अनुमान गरिएको छ।
अमेरिकाले भारतले रूसी तेल खरिद जारी राखेको भन्दै कडा प्रतिक्रिया जनाउँदै अगस्ट २७ देखि लागू हुने गरी भारतीय वस्तुमा आयात कर दोब्बर पारेर ५० प्रतिशतसम्म पुर्याउने निर्णय लिएको छ।
यही घटनाक्रमसँगै भारत-अमेरिका सम्बन्धमा चिसोपन देखिन थालेको बेला मोदीको सम्भावित चीन भ्रमणले चर्चा पाएको हो। यद्यपि भ्रमणको टुंगो भने अझै नलागेको भारतीय अधिकारीहरूले बताएका छन्।
यदि भ्रमण निश्चित भएमा यो मोदीको सात वर्षपछि पहिलो चीन भ्रमण हुनेछ। यसअघि सन् २०२4 को अक्टोबरमा ब्रिक्स सम्मेलनका क्रममा मोदी र सी चिनफिङबीच भेट भएको थियो। सो भेटपछि पूर्वी लद्दाखमा देखिएको सैन्य तनाव केही हदसम्म कम भएको थियो।
हालै भारत–चीन सम्बन्धमा केही सकारात्मक संकेत देखिएका छन्, मानसरोवर यात्रा पुनः सञ्चालनमा आएको छ र चिनियाँ नागरिकहरूलाई भिसा दिन थालिएको छ। तर, गत मे महिनामा चीनले पाकिस्तानको पक्षमा सैन्य समर्थन गरेको भनिएको घटनाले सम्बन्धमा फेरि दबाब सिर्जना गरेको छ।
मोदीको यो सम्भावित भ्रमण क्षेत्रीय कूटनीतिक सन्तुलन कायम राख्ने रणनीतिक प्रयासको रूपमा हेरिएको छ।