News Desk
रूसी राष्ट्रपति भ्लादिमिर पुतिन भारतको औपचारिक भ्रमणका लागि नयाँ दिल्ली पुगेसँगै दुवै देशबीचको दीर्घकालीन कूटनीतिक तथा रणनीतिक साझेदारी नयाँ चरणमा प्रवेश गरेको छ। युक्रेन युद्धपछि पुतिनको यो एक महत्वपूर्ण अन्तर्राष्ट्रिय भ्रमणका रूपमा हेरिएको छ, जहाँ भारत–रुस सम्बन्धलाई थप मजबुत बनाउन उच्चस्तरीय वार्ता भइरहेको छ। पुतिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हुने द्विपक्षीय छलफलमा रक्षा, ऊर्जा, व्यापार, प्राविधिक सहयोग, नाभिकीय उर्जा, कृषि तथा अन्तरिक्ष क्षेत्र प्रमुख एजेन्डा बनेका छन्।
भ्रमणका क्रममा रुसले भारतलाई एस-४०० हवाई रक्षा प्रणालीको निरन्तर आपूर्ति, सम्भावित Su-57 लडाकु विमान र प्रविधि हस्तान्तरणसमेत समेटिएको सुरक्षा सहयोग विस्तार गर्ने संकेत दिएको छ। दुवै देशले २०३० सम्मका लागि नयाँ दीर्घकालीन आर्थिक तथा व्यापारिक सहकार्य कार्यक्रम तयार गरिरहेको बताइएको छ, जसले ऊर्जा, उद्योग, अवसंरचना र निर्यात विस्तारलाई प्राथमिकता दिनेछ। भारतले रुससँग व्यापार सन्तुलन सुधार गर्ने, भारतीय वस्तुहरूको निर्यात बढाउने र वैकल्पिक भुक्तानी प्रणालीलाई व्यवहारिक बनाउनेतर्फ जोड दिएको छ।
यसपटकको भेटलाई भू–राजनीतिक दृष्टिले पनि निकै महत्वपूर्ण मानिएको छ, किनकि पश्चिमी मुलुकहरूको दबाबबीच भारतले आफ्नो “रणनीतिक स्वतन्त्रता” कायम राख्दै रुससँग सहयोगलाई निरन्तरता दिएको छ। अन्तर्राष्ट्रिय परिस्थितिमा बढ्दो जटिलता बीच पुतिन मोदीको भेटले दुई देशबीचको पुरानो मित्रता अझ सुदृढ भएको सन्देश दिइरहेको अन्तर्राष्ट्रिय विश्लेषकहरूले बताएका छन्।