News Desk
अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आइतबार भएको गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुगेको छ। न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले १० वर्षीया बालिकासहित १५ जनाको ज्यान गएको पुष्टि गरेका छन्। मृतकमध्ये एक जना आक्रमणकारीसमेत रहेको जनाइएको छ।
प्रहरीका अनुसार घटनामा संलग्न आक्रमणकारी बुबा र छोरा रहेका छन्। बुबाको उमेर ५० वर्ष र छोराको उमेर २४ वर्ष रहेको बताइएको छ। घटनाका क्रममा ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारेको छ भने २४ वर्षीय छोरा गम्भीर घाइते अवस्थामा अस्पतालमा उपचाररत छन्।
गोलीकाण्डपछि घटनास्थलमा ठूलो संख्यामा आपतकालीन सेवा परिचालन गरिएको थियो। ड्युटीमा रहेका प्रहरी अधिकारीहरूसहित ४२ जनालाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।
प्रहरीले ५० वर्षीय आक्रमणकारीसँग वैध हतियार लाइसेन्स रहेको र उनको नाममा छवटा हतियार दर्ता भएको जनाएको छ। ती सबै हतियार घटनास्थलबाट बरामद गरिएको छ। साथै घटनास्थलमा फेला परेका दुई सक्रिय विस्फोटक उपकरणलाई प्रहरीले सुरक्षित रूपमा निष्क्रिय पारेको छ।
घटनापछि अस्ट्रेलियाभर सुरक्षा सतर्कता बढाइएको छ। प्रधानमन्त्री एन्थोनी अल्बानिजले आक्रमणविरुद्ध आवश्यक सबै स्रोतसाधन परिचालन गरिने बताएका छन्। उनले यस्ता हिंसात्मक घटनाविरुद्ध कडा कदम चालिने र समाजमा फैलिएको घृणा तथा विभाजन अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्।
यस घटनाले अस्ट्रेलियाली समाजमा गहिरो शोक र चिन्ता फैलाएको छ। अधिकारीहरूले घटनाको विस्तृत छानबिन जारी राखेका छन् भने पीडित परिवारप्रति सरकार र समुदायले एकजुट भएर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।