बलुचिस्तानमा अज्ञात समूहको आक्रमण, एक हिन्दु व्यापारीसहित तीन जनाको मृत्यु
News Desk
Feb-09 तारिख 07:01 बिहान

पाकिस्तानको बलुचिस्तान प्रान्तअन्तर्गत खुजदार जिल्लामा अज्ञात बन्दुकधारीको गोली प्रहारबाट एक हिन्दु व्यापारीसहित तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। घटनाले स्थानीय क्षेत्रमा तनाव उत्पन्न भएको छ।

खुजदारका प्रहरी अधिकारी वहाब बलोचका अनुसार खुजदारको नाल क्षेत्रस्थित हरानबो बाँध आसपास उक्त आक्रमण भएको हो। पिकनिक मनाउन त्यहाँ पुगेका पाँच जनामाथि अज्ञात व्यक्तिहरूले अचानक गोली चलाएका थिए।

प्रहरीका अनुसार मृतक र घाइते सबै खुजदार जिल्लाकै वाध क्षेत्रका बासिन्दा हुन्। गोली प्रहारका क्रममा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए।

मृतकहरूमा मल्लु माल नामका एक हिन्दु व्यापारी रहेका छन् भने अन्य दुई जनाको नाम अब्दुल रसिद र अब्दुल सबुर रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि नजिकैको अस्पतालमा भर्ना गरिएको छ।

प्रहरी अधिकारी बलोचले घटनाको कारण र आक्रमणकारीको पहिचानबारे अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्। आक्रमण किन र कसले गर्‍यो भन्ने विषय अझै खुल्न सकेको छैन।

घटनापछि पीडितका आफन्त तथा स्थानीय बासिन्दाले आक्रोश व्यक्त गर्दै क्वेटा र कराँची जोड्ने मुख्य राजमार्ग अवरुद्ध गरेका छन्, जसका कारण यातायात प्रभावित भएको छ।