भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको राजनीतिक संगठनमाथि प्रतिबन्ध
News Desk
Jun-11 तारिख 06:45 बिहान

काठमाडौँ -  भ्लादिमिर पुटिनका आलोचक एलेक्सी नाभाल्नीको राजनीतिक संगठनमाथि रुसको एक अदालतले  प्रतिबन्ध लगाएको छ । अदालतले नाभाल्नीको संस्था एन्टी करप्सन फाउन्डेसनलाई ‘अतिवादी संगठन’ भन्दै यसका सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाएको हो । 

संगठनका लागि भन्दै कसैले काम गरे उसलाई जेल सजाय हुन सक्ने पनि बताइएको छ । त्यस्तै नाभाल्नीको राजनीतिक नेटवर्कलाई समर्थन गरेमा सार्वजनिक सेवा प्रवेशमा रोक लगाइनेछ ।

अदालतको आदेशपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै नाभाल्नीले आफू ‘पछि नहट्ने’ बताएका छन् । तर आफ्ना समर्थकलाई भने काम गर्ने शैली परिवर्तन गर्न नाभाल्नीले आग्रह गरेका छन् ।

नाभाल्नी यतिबेला भ्रष्टाचारको मुद्दामा जेलमा रहेका छन् । उनले आफूलाई राजनीतिक रुपले प्रेरित भएर सरकारले जेलमा राखेको आरोप लगाउँदै आएका छन् । उनले पटक–पटक आफू निर्दोष भएको बताउँदै आएका छन् ।

रुसमा यसै वर्षको सेप्टेम्बर महिनामा संसदीय चुनाव हुँदैछ । विभिन्न ओपिनियन पोलहरुले सत्तारुढ दलको लोकप्रियता खस्किएको बताएका छन् । नाभाल्नीका केही समर्थक चुनाव लड्ने तयारी गरिरहेका छन् । नाभाल्नीका वकिलले पुनरावलोकनका लागि अपिल गर्ने बताएका छन् ।

४४ वर्षीय नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कडा आलोचक हुन् । सरकारी भ्रष्टाचारको भन्डाफोर गर्दै आएका नाभाल्नी कैयौं पटक जेल परिसकेका छन् । गत जुनमा संविधान सुधारका लागि रुसमा भएको चुनावलाई उनले ‘कु’ को संज्ञा दिएका थिए । उक्त चुनावले पुटिनलाई थप दुई राष्ट्रपति बन्ने बाटो खोलिदिएको थियो ।