९२ देशलाई ५०० मिलियन फाइजर भ्याक्सीन खरीद गरेर दिने बाईडेनको घोषणा
News Desk
Jun-11 तारिख 02:12 बेलुका

 

काठमाडौं-अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२२ को जुनसम्ममा संसारभरका ९२ निम्न र मध्यम आय भएका मुलुक तथा अफ्रीकन युनियनका सदस्यहरूको लागि ५०० मिलियन फाइजर भ्याक्सीन खरीद गरेर उपलब्ध गराउने घोषणा गरेका छन् । 

राष्ट्रपती बाइडेनले संसारका लोकतान्त्रिक देशहरूलाई पनि सुरक्षित र प्रभावकारी भ्याक्सीन आपूर्तिमा आफ्नो भूमिका निभाउन पनि आग्रह गर्दै भने ’आजको घोषणाको प्रमुख उद्देश्य जीवन रक्षा हो र यसबारेका थप विवरणहरू आउने दिनमा घोषणा गरिनेछ’ ।  अमेरिकी सरकारले यो महामारीविरूद्धको विश्वव्यापी लडाईंको लागि ऐतिहासिक कदम भएको उल्लेख गरेको छ ।  

उक्त ऐतिहासिक घोषणा राष्ट्रपति बाइडेनले केही समयअघि गरेको जुनको अन्त्यसम्ममा ८० मिलियन भ्याक्सीन सहयोग गर्ने घोषणालाई निरन्तरता दिन र भ्याक्सीनको विश्वव्यापी पहुँच अझै बढाउन आएको पनि उल्लेख गरिएको छ ।  

‘हामीलाई विश्वास छ कि यी सहयोगले संसारभरीका लोकतान्त्रिक देशहरूले महामारीको अन्त्य गर्न र संसारका सवैलाई सुरक्षित रूपमा खोप पुर्याउन चालिरहनुभएका समन्वयमुलक कदमहरूको लागि बलियो आधार बन्नेछ’ राष्ट्रपती बाइडेनले बताए ।