विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस दशकौंदेखि चमेरोमा थियो — अध्ययन
News Desk
Jul-30 , 2020 तारिख 07:30 बेलुका

लन्डन — श्रावण १५, २०७७।

‘मानिसमा पाइएको भाइरसको मात्र अध्ययन गरेर हुँदैन, जीवजन्तुमा भेटिने भाइरसको पनि अध्ययन गर्नुपर्छ’ 

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस दशकौंदेखि चमेरोका शरीरमा रहेको हुन सक्ने बेलायती एक अध्ययनले संकेत गरेको छ । बेलायतमा गरिएको एक अध्ययनमा ४० देखि ७० वर्ष अघिदेखि चमेरोमा कोरोना भाइरस(कोभिड–१९) देखिएको हुन सक्ने बताइएको छ  ।

त्यही भाइरस अहिले मानिससम्म पुगेको अध्ययनकर्ताहरुले बताएका छन् । वैज्ञानिकहरुको यो शोधसँगै कोरोना भाइरसका बारेमा चर्चा गरिएको ‘कन्स्पिरेसी थियरी’ पनि फितलो देखिएको छ । यो भाइरस ल्याबमा तयार पारिएको हो भन्ने एकखाले तर्कलाई यो अध्ययनले निराधार देखाएको छ ।

ग्लासगो विश्वविद्यालयका प्राध्यापक डेभिड रोर्बटसनले नेचर माइक्रोबायोलोजी जर्नलमा यससम्बन्धी शोधपत्र प्रकाशित गरेका हुन् । उनका अनुसार अहिलेको विश्वव्यापी महामारी सार्स–कोभ २ भाइरस आनुवंशिक रुपले चमेरोमा पाइने भाइरससँग निकै नजिक रहेको छ ।

समयक्रमसँगै चमेरोमा पाइने भाइरस सार्स–कोभ २ छुट्टिएको पनि प्राध्यापक रोबर्टसनले बताएका छन् । ‘यसको अर्थ यो हो कि, मानिसमा देखिएको कोरोना भाइरस केही समय पहिलेदेखि नै अस्तित्वमा थियो । तर हामीलाई अहिलेसम्म थाहा छैन कि कहिले र कसरी यो भाइरस मान्छेमा प्रवेश गऱ्यो,’ बीबीसीसँगको कुराकानीमा उनले भने, ‘यदि हामीले यसलाई चमेरोमा पाइने आम भाइरसको रुप मान्ने हो भने, हामीले यसबारेमा अझै अध्ययन र निगरानी गर्नुपर्नेछ ।’

भविष्यमा महामारी फैलनबाट रोक्नका लागि मानिसमा पाइएको भाइरस मात्रै होइन, चमेरोमा पाइने भाइरसका बारेमा पनि अध्ययन गर्नुपर्ने उनी बताउँछन् । यदि दशकौंदेखि यो भाइरस अस्तित्वमा रहेको भए अन्य जीवमा पनि उक्त भाइरस भेटिने सम्भावना रहेको उनको दाबी छ ।

यस अनुसन्धानका लागि शोधकर्ताहरुले कोभिड–१९ बाट बिरामी बनाउने सार्स–कोभ २ (Sars-CoV-2) भाइरसको जेनेटिक कोड र यसैसँग मिल्दोजुुल्दो चमेरोमा पाइने भाइरस RATG-13 भाइरससँग तुलना गरिएको थियो । शोधका क्रममा दुवैका पूर्वज एकै पाइएको र विकासक्रमसँगै फरक हुँदै गएको प्राध्यापक रोबर्टसन बताउँछन् ।

रिडिङ विश्वविद्यालयका प्राध्यापक मार्क पेजल पनि उक्त अध्ययनले कोरोना भाइरसको अस्तित्व ४० देखि ७० वर्ष अघिदेखि नै रहेको हुन सक्ने बताउँछन् । ‘जनावरबाट मानिसमा हुने संक्रमणको दायरा कति ठूलो छ भन्ने कुरा यो अनुसन्धानले जनाउँछ । मानिसलाई रोगी बनाउने थुप्रै भाइरस जनावरको शरीमा रहेको हुन पनि सक्छ, जुन हामीलाई थाहै छैन,’ प्राध्यापक पेजलले भने । अनुसन्धानकर्ताहरुले अनुसार एउटा जनवारबाट अर्को जनावरमा भाइरस फैलिएको हुनसक्ने र जंगली जनावरको अवैध कारोबार गर्ने क्रममा मानिसमा सरेको हुनसक्ने बताएका छन् ।

यसअघि सुरुमा अनुसन्धानकर्ताहरुले चमेरो हुँदै कुनै समुद्री जीवमार्फत मानिसमा कोरोना भाइरसको सरेको हुनसक्ने बताएका थिए । तरपछि केही अनुसन्धानकर्ताहरुले भने चमेरोबाट कोभिड–१९ फैलिएको आरोप निराधार र गलत भएको बताएका थिए । दक्षिण एसियाका ६४ जना कायरेप्टेरोलोजिस्ट(चमेरोको अध्ययन गर्ने) हरुले कोभिड–१९ चमेरोबाट फैलिएको कुरा सत्य नभएको दाबी गरेका थिए । केही अध्ययनकर्ता भने चमेरोमा पनि उक्त भाइरस अन्य कुनै जीवबाट सरेको हुनसक्ने सम्भावना रहेको बताउँछन् ।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसका कारण अहिलेसम्म विश्वभर ६ लाख ६७ हजारभन्दा बढीको मृत्यु भएको छ । बिहीबार दिउँसोसम्म कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या एक करोड ७० लाख नाघेको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये करिब एक करोड निको भएका छन् । कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा मात्रै एक लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या ४४ लाख नाघेको छ भने संक्रमण पुष्टि भएकामध्ये झन्डै १४ लाख निको भएका छन् ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको