News Desk
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गागाउँमा शुक्रबारदेखि परम्परागत धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सुरु भएको छ । हिउँदयामको बिदाइ तथा बर्खायामको स्वागतका लागि सोमबारसम्म चार दिन धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ चलेको छ । हिमाली जिल्ला मुस्ताङको जोमसोमदेखि माथिल्लो क्षेत्रमा यसप्रकारको धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ मनाउने प्रचलन छ । वारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका गुरुङ तथा विष्ट समुदायले बर्सेनि धछ्याङ पर्वलाई हर्षोल्लासका साथ मनाउने गर्छन् ।
स्थानीय भाषामा ‘ध’को शाब्दिक अर्थ धनुषवाण (तारा) र ‘छ्याङ’को शाब्दिक अर्थ झाङ अर्थात् (घरेलु पेय) पदार्थ भन्ने गरिन्छ । खिङ्गागाउँका मुखिया ल्हाक्पा टसी गुरुङका अनुसार पर्वमा सहभागीले घरेलु मदिरा सेवन गर्दै धनुषवाण (तारा) हान्ने खेल परम्परा भएकाले यस पर्वलाई ‘धछ्याङ’ पर्व भन्ने गरिएको बताउनुुभयो । यस वर्षको अघिल्लो हप्ता यहाँको वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत लुप्रा र झारकोट गाउँमा धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ सम्पन्न भइसकेको छ । खिङ्गाका गाउँ मुखिया ल्हाक्पा टसी गुरुङका अनुसार शुक्रबारदेखि यहाँको पुराङ रानीपौवा र खिङ्गागाउँमा एकैसाथ अलग–अलग धछ्याङ पर्व भइरहेको उल्लेख गर्नुभयो ।
बर्सेनि मनाइने धार्मिक तथा सांस्कृतिक पर्व ‘धछ्याङ’ केवल घरेलु पेय पदार्थ झाङ खाएर धनुषवाण खेल्नेमा मात्रै सीमित नरहेको वडाध्यक्ष प्रमेश गुरुङले उल्लेख गर्नुभयो । धछ्याङ पर्व हिउँदयाम सकिएर बर्खायाम सुरु भएको सूचकका रूपमा मनाउने प्रचलन रहेको उहाँले बताउनुभयो । वसन्त ऋतुको आगमनसँगै मनाइने यस प्रकारको ‘धछ्याङ’ पर्वमा स्थानीयले विश्व शान्तिको कामना गर्दै खेतीपाती र कृषि पालन व्यवसाय राम्रो होस्, प्राकृतिक विपद्का घटना नहोस्, रोगब्याधि र अनिष्ट नहोस् भन्ने कामना गर्दै धछ्याङ पर्वमा विशेष पुजाआराधना गर्ने प्रचलन छ ।
यहाँको धार्मिक तथा सांस्कृतिक मौलिकता बोकेको परम्परागत धछ्याङ पर्व सदियाँैदेखि मनाउँदै आइरहेको पाइएको छ । पर्वमा स्थानीय धर्मसंस्कृति, वेशाभूषाअनुसारको पोशाक र गहना लगाएर स्थानीय पर्वमा सहभागी हुने गर्छन् । धछ्याङ र यार्तुङ पर्व मुस्ताङको पर्वमात्र नभई सांस्कृतिक धरोहरका रूपमा रहेको वडाध्यक्ष गुरुङको भनाइ छ । पछिल्लो समय युवापुस्ता विदेश पलायन हुने क्रम बढेकाले धार्मिक तथा सांस्कृतिक परम्परा धान्न मुस्किल परेको वडाध्यक्ष गुरुङले बताउनुभयो । वारागुङ मुक्तिक्षेत्र–१ अन्तर्गत रहेको खिङ्गागाउँमा ३२ घरपरिवारको बसोबास छ । यहाँका स्थानीयको मुख्य आयआर्जनको स्रोत भनेकै कृषि र पशुपालन व्यवसाय हो । गाउँका केहीले होटल व्यवसाय समेत गरेका छन् ।
खिङ्गामा बर्सेनि मनाइने धछ्याङ पर्वमा गाउँका १८ वर्षदेखि माथिका सबै स्थानीय उपस्थित हुनुपर्छ । पर्वमा सहभागी नहुनेलाई गाउँको निर्णयअनुसार जरिवानासमेत तिराइन्छ । युवादेखि ज्येष्ठ नागरिकको उल्लेख्य सहभागितामा पर्व मनाउने प्रचलन छ । पर्व अवधिभर गाउँको समाजघरमा सबै गाउँले आपसमा भेला भएर सामूहिक रूपमा पर्व मनाउने गरिन्छ । पर्वमा मीठामीठा खानेकुरा पकाएर खाने, राम्रो लगाउने र स्थानीय भाषाको गीत गाउँदै स्याब्रो नाच नाच्ने प्रचलन रहिआएको छ ।