विवाहपञ्चमी महामहोत्सव व्यवस्थित बनाउन जानकी मन्दिरद्वारा विभिन्न समिति गठन
News Desk
Nov-20 तारिख 06:06 बिहान

जनकपुरधाम, मङ्सिर ४। आगामी मङ्सिर २३ गतेदेखि जनकपुरधाममा आयोजना हुने साताव्यापी श्रीराम जानकी विवाहपञ्चमी महामहोत्सवलाई भव्य, सुरक्षित तथा व्यवस्थित बनाउन जानकी मन्दिरले विभिन्न व्यवस्थापन समिति गठन गरेको छ ।

महोत्सवका क्रममा शान्ति सुरक्षा, प्रचारप्रसार, बजार व्यवस्थापन, रङ्गभूमि मैदान तथा प्रवेशद्वार व्यवस्थापन, पण्डाल निर्माण, ट्राफिक व्यवस्थापन, खानेपानी र विद्युत् व्यवस्थापनलगायतका कार्यलाई प्रभावकारी बनाउन छुट्टाछुट्टै समिति गठन गरिएको हो ।

महोत्सवको तयारी तथा व्यवस्थापनबारे बिहीबार जानकी मन्दिर परिसरमा आयोजित सर्वपक्षीय बैठकले विभिन्न समिति गठन गर्दै तिनलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो । यस वर्षको विवाहपञ्चमी महामहोत्सवलाई विगतका वर्षभन्दा अझ भव्य, व्यवस्थित र सहज बनाउन आवश्यक तयारी अघि बढाउने उद्देश्यले बैठक आयोजना गरिएको थियो ।

जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको अगुवाइ तथा उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवको संयोजनमा सम्पन्न बैठकमा उत्तराधिकारी महन्थ दासले महोत्सवको सफल आयोजनाका लागि तयारी तीव्र पारिएको जानकारी दिनुभयो ।

उहाँले महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय, स्थानीय तह तथा अन्य सरोकारवाला संस्थाबीच आपसी समन्वय, सहकार्य र जिम्मेवारीबोध आवश्यक रहेको बताउनुभयो ।

विवाहपञ्चमी महामहोत्सवमा नेपालका विभिन्न जिल्ला तथा भारतको अयोध्यासहितका क्षेत्रबाट हजारौँ साधुसन्त, श्रद्धालु तथा भक्तजन जनकपुरधाम आउने अपेक्षा गरिएको छ । उनीहरूको स्वागत, आवास, सुरक्षा तथा आवागमनलाई सहज बनाउने विषयलाई बैठकले विशेष प्राथमिकतामा राखेको छ ।

बैठकमा धार्मिक सङ्घसंस्था, नागरिक समाज, जनप्रतिनिधि, सुरक्षा निकाय, सञ्चार क्षेत्र तथा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।