देशभरका मुस्लिम समुदायले इद उल फित्र पर्व मनाउँदै
News Desk
Mar-21 तारिख 07:12 बिहान

काठमाडौँ | अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनाभर रोजा (निराहार व्रत) बसेका मुस्लिम समुदायले आज विशेष नमाज अदा गर्दै इद उल फित्र पर्व उल्लासपूर्वक मनाइरहेका छन्। देशभरका मस्जिद र इदगाहमा नमाज पढेपछि आफन्त तथा ठूलाबडासँग भेटघाट गरी आशीर्वाद लिने परम्परा रहेको छ।

इदका अवसरमा तीन दिनसम्म आफन्तजनकहाँ गएर शुभकामना आदानप्रदान गर्ने, सानालाई आशीर्वाद दिने र आगन्तुकलाई सेवई, खजुरजस्ता मीठा परिकार खुवाउने चलन छ। दान तथा सहयोगको भावना झल्किने भएकाले यस पर्वलाई इद उल फित्र भनिएको मुस्लिम समुदायका अगुवाहरूले बताएका छन्।

मुस्लिम धर्मावलम्बी तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतारका अनुसार रमजान महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद मनाउने मिति तय गरिन्छ। आज बिहान काठमाडौँको घन्टाघरस्थित नेपाली जामे मस्जिदमा विशेष नमाज अदा गरिनेछ भने काश्मी मस्जिदसहित देशभरका मस्जिदहरूमा पनि धार्मिक कार्यक्रम आयोजना गरिँदैछ।

यस पर्वमा दीनदुःखी र गरिबलाई दान दिने विशेष परम्परा छ। मुस्लिम धर्मग्रन्थ कुरानअनुसार वार्षिक बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने व्यवस्था छ, जसलाई जकात भनिन्छ। यसबाहेक गहुँ वा त्यस बराबरको रकम दान गर्ने चलनलाई सत्कार फितर भनिन्छ, जुन प्रत्येक व्यक्तिको हैसियतअनुसार गरिन्छ।

एक महिनाअघि सुरु भएको रमजान अवधिभर मुस्लिम समुदायले सूर्योदयदेखि सूर्यास्तसम्म रोजा बसेर धार्मिक आस्था व्यक्त गरेका थिए। इदको दिन नयाँ लुगा लगाएर आफन्त तथा साथीभाइसँग भेटघाट गर्दै शुभकामना आदानप्रदान गर्ने परम्परा छ। यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।

धेरै पढिएको