‘बृहत् पाशुपतक्षेत्र पदयात्रा २०८२’ अन्तर्गत चौसट्ठी सिद्धलिङ्ग दर्शन यात्रा सम्पन्न
News Desk
May-11 तारिख 06:24 बिहान

आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिर तथा पाशुपत क्षेत्रको धार्मिक महिमा र पवित्र वाग्मती नदीको महत्व जनमानसमा उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘बृहत् पाशुपतक्षेत्र पदयात्रा २०८२’ अन्तर्गत चौसट्ठी सिद्धलिङ्ग दर्शन यात्रा सम्पन्न गर्दै तीर्थयात्रीहरूको समूह आइतबार पशुपति क्षेत्र पुगेको छ ।

सनातन धर्मप्रति श्रद्धा अभिवृद्धि गर्ने, वाग्मती नदीको संरक्षणप्रति जनचेतना फैलाउने तथा नदी प्रदूषणप्रति आत्मबोधसहित भगवान् पशुपतिनाथ र वाग्मती मातासमक्ष क्षमायाचना गर्ने भावनाका साथ पदयात्रा आयोजना गरिएको आयोजकले जनाएको छ । महेश सन्न्यास आश्रमका पीठाधीश एवं ‘महेश संस्कृत गुरुकुलम्’का अध्यक्ष स्वामी रमणानन्द गिरीको आध्यात्मिक संकल्पमा यात्रा सम्पन्न भएको हो ।

गत चैत १५ गते पशुपति शङ्कराचार्य मठमा विशेष पूजा, आरती तथा समुद्घाटन कार्यक्रम सम्पन्न गरी प्रारम्भ गरिएको पदयात्रा चैत १६ गतेदेखि औपचारिक रूपमा अघि बढाइएको थियो । आदिलिङ्ग कुशेश्वर महादेवको दर्शनबाट सुरु भएको यात्रा दोलखा भीमसेन, सिन्धुली, नुवाकोट, धादिङ, मकवानपुर, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक तथा जनकपुरलगायत विभिन्न धार्मिक एवं सिद्धस्थलहरूको पदयात्रा गर्दै ४२ दिनपछि पुनः पशुपति क्षेत्रमा आइपुगेको हो ।

यात्राका सङ्कल्पकर्ता स्वामी रमणानन्द गिरीले पशुपति तत्वको दार्शनिक महत्वबारे चर्चा गर्दै लघु, मध्यम र बृहत् पाशुपत परिक्रमाको विशेषतासमेत प्रकाश पार्नुभएको थियो ।

धार्मिक तथा आध्यात्मिक दृष्टिले अत्यन्त ऊर्जा सम्पन्न मानिएको पाशुपत क्षेत्रको महत्व अन्तर्राष्ट्रिय रूपमा प्रचारप्रसार गर्नुपर्नेमा विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्रका जानकारहरूले जोड दिएका छन् ।

‘बृहत् पाशुपत पदयात्रा’ सफल बनाउन मूल आयोजक समितिसहित विभिन्न उपसमितिहरू सक्रिय रहेका थिए । पशुपति क्षेत्रमा प्रवेश गरेपछि यात्रुहरूले भुवनेश्वर, भष्मेश्वर, रुद्रगारेश्वरलगायतका तीर्थस्थलमा विधिपूर्वक पूजा, रुद्राभिषेक र आराधना सम्पन्न गरेका छन् ।

आज बिहान वाग्मती नदी तट तथा पशुपतिनाथ मूल मन्दिर परिसरमा विशेष पूजा, अर्घ्यदान र आरती सम्पन्न गरेपछि बृहत् पाशुपत पदयात्राको औपचारिक समापन कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

धेरै पढिएको