News Desk
दोलखा जिल्लाको ग्रामीण परिवेशमा २०४९ सालमा जन्मिएका प्रेम कोइराला आज नेपाली रग्बी खेल क्षेत्रका एक परिचित अन्तर्राष्ट्रिय रेफ्रीका रूपमा स्थापित भएका छन्। सामान्य गाउँघरमा हुर्किएका उनले एस.एल.सी.सम्मको अध्ययन दोलखामै पूरा गरी २०६५ सालमा उच्च शिक्षाका लागि काठमाडौं प्रवेश गरेका थिए।
काठमाडौं आएपछि उनले सुरुमा क्योकुशिन करातेमार्फत खेलकुद यात्रा प्रारम्भ गरे। तर २०६९ सालमा दशरथ रंगशालामा प्रशिक्षणका क्रममा पहिलोपटक देखेको अण्डाकार रग्बी बलले उनको जीवनको दिशा नै परिवर्तन गरिदियो। जिज्ञासावश पहिलोपटक हातमा समातेको रग्बी बलले आज उनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएको छ।
नेपालमा रग्बी खेलको प्रारम्भिक विकासकालदेखि नै सक्रिय रहेका प्रेमले अञ्चल, क्षेत्रीय तथा प्रदेशस्तरीय प्रतियोगिताबाट अनुभव बटुल्दै राष्ट्रिय टोलीसम्मको यात्रा तय गरे। सन् २०१६ मा भारतको चेन्नईमा आयोजित “एसियन डेभलपमेन्ट सेभेन्स रग्बी सिरिज” मार्फत उनले नेपाली राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।
त्यसपछि उनले कतारमा सम्पन्न “एसिया रग्बी सेभेन्स ट्रफी–२०१७”, सिंगापुरमा आयोजित “एसिया रग्बी सेभेन्स ट्रफी–२०१९” तथा सन् २०२२ मा बंगलादेशमा सम्पन्न नेपाल–बंगलादेश बंगबन्धु अन्तर्राष्ट्रिय फिफ्टिन्स प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका थिए। उक्त प्रतियोगिता नेपाली रग्बी टोलीको पहिलो अन्तर्राष्ट्रिय फिफ्टिन्स प्रतियोगिता पनि थियो।
खेलाडीसँगै प्रशिक्षकको भूमिकामा समेत सक्रिय रहेका प्रेमले विभिन्न विद्यालयमा रग्बी प्रशिक्षण दिएका थिए। यसै क्रममा उनले २०१८ बाट टच रग्बी रेफ्रीको जिम्मेवारी सम्हाल्न थाले। खेलाडी र प्रशिक्षकको अनुभवलाई थप उचाइमा पुर्याउँदै उनले रेफ्री करिअरलाई आफ्नो मुख्य लक्ष्य बनाए।
पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा श्रीलंकाबाट आएका दुई रेफ्रीसँगै नेपालका तर्फबाट उनी मात्र मुख्य रेफ्रीको भूमिकामा थिए। त्यसपछि नेपालमै सम्पन्न यू–१८ तथा यू–२० महिला/पुरुष अन्तर्राष्ट्रिय सेभेन्स रग्बी प्रतियोगितामा सहायक रेफ्रीको भूमिका निर्वाह गरेका उनले सन् २०२३ मा श्रीलंकामा आयोजित स्कुल रग्बी प्रतियोगितामा मुख्य रेफ्रीको जिम्मेवारी पाएका थिए।
सन् २०२४ मा फिलिपिन्समा सम्पन्न “सेभेन्स लेग–२” मा रेफ्रीको भूमिका निर्वाह गरेपछि उनको प्रदर्शनबाट प्रभावित हुँदै एसिया रग्बी रेफ्री कमिटीले उनलाई मलेसियाको साबाहमा आयोजित “ब्रुनोइ सेभेन्स – द ग्रिनेस्ट सेभेन्स इन द वर्ल्ड” प्रतियोगितामा अन्तर्राष्ट्रिय अफिसियलका रूपमा निमन्त्रणा गरेको थियो।
त्यसै प्रदर्शनका आधारमा उनले २०२५ मा आयोजित “एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी” मा सहायक रेफ्रीको जिम्मेवारी पाए। साथै बंगलादेशमा सम्पन्न नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय फिफ्टिन्स रग्बी सिरिजमा पनि उनले रेफ्रीको भूमिका निर्वाह गर्दै अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने एक मात्र नेपाली रग्बी रेफ्रीको पहिचान बनाएका छन्।
रेफ्री करिअरलाई प्राथमिकता दिने क्रममा उनले राष्ट्रिय प्रतियोगिता, भारतको डिभिजन–३ फिफ्टिन्स प्रतियोगिता तथा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा खेलाडीका रूपमा सहभागी हुने अवसरसमेत त्यागे। उनको लक्ष्य स्पष्ट थियो—“नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा रेफ्रीमार्फत चिनाउने।”
यसै यात्रामा उनले सन् २०२३ मा विश्व रग्बीद्वारा प्रदान गरिने “वल्ड लेभल–२ डेभलपमेन्ट म्याच अफिसियल” रेफ्री सर्टिफिकेट प्राप्त गर्दै उक्त उपलब्धि हासिल गर्ने पहिलो नेपाली रग्बी रेफ्री बन्न सफल भए।
एसिया रग्बी रेफ्री कमिटीले अनुभव, प्रदर्शन, मूल्यांकन तथा शारीरिक फिटनेसका आधारमा प्रत्येक वर्ष सदस्य राष्ट्रका उत्कृष्ट रेफ्री छनोट गर्ने गर्दछ। सोही प्रक्रियाअन्तर्गत प्रेम कोइराला सन् २०२६ को “डेभलपमेन्ट प्यानल” मा पर्न सफल एक मात्र नेपाली रग्बी रेफ्री बनेका छन्। यससँगै उनले अब एसिया रग्बीअन्तर्गत आयोजना हुने विभिन्न आधिकारिक प्रतियोगितामा मुख्य रेफ्रीको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्ने भएका छन्।
हाल उनी आगामी २०८३ वैशाख ३१ गते उज्वेकिस्तानमा आयोजना हुने सेन्ट्रल तथा दक्षिण एसियाली (CASA) रग्बी प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्न त्यसतर्फ प्रस्थान गर्ने तयारीमा छन्।
आर्थिक अभाव : अन्तर्राष्ट्रिय रेफ्रीहरूको साझा समस्या
यति ठूलो उपलब्धि हासिल गरे पनि प्रेम कोइरालाको यात्रा आर्थिक रूपमा भने निकै संघर्षपूर्ण रहँदै आएको छ। खेलाडी होस् वा रेफ्री—दुवै भूमिकामा आर्थिक संकट नै आफ्नो सबैभन्दा ठूलो चुनौती रहेको उनी बताउँछन्।
हालसम्म सातवटा अन्तर्राष्ट्रिय प्रतियोगितामा रेफ्रीको भूमिकामा सहभागी भइसकेका प्रेमका अनुसार श्रीलंका र ओमानमा सम्पन्न प्रतियोगिताका क्रममा तत्कालीन सदस्य–सचिव टंकलाल घिसिङको कार्यकालमा केही हवाई टिकट सहयोग प्राप्त भए पनि अधिकांश प्रतियोगितामा उनी आफ्नै खर्चमा सहभागी भएका थिए।
उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्को विद्यमान नियमावलीमा रेफ्री तथा निर्णायकहरूको व्यक्तिगत विदेश भ्रमण खर्च सरकारले नबेहोर्ने व्यवस्था रहेकाले उनीजस्तै अन्य खेलका रेफ्रीहरू पनि आर्थिक अभावका कारण अन्तर्राष्ट्रिय अवसरबाट वञ्चित हुने अवस्था सिर्जना भइरहेको छ।
हाल उज्वेकिस्तानमा हुन लागेको प्रतियोगिताका लागि आयोजकले बसोबास, खाना तथा केही भत्ता उपलब्ध गराए पनि हवाई टिकट खर्च जुटाउनु नै मुख्य चुनौती बनेको उनी बताउँछन्।
खेलकुद क्षेत्रमा आवश्यक राहत तथा सुझाव
प्रेम कोइरालाको अनुभवले नेपालमा खेलाडी मात्र होइन, रेफ्री तथा निर्णायकहरूको अवस्था पनि सुधार गर्नुपर्ने आवश्यकता स्पष्ट देखाएको छ। खेलकुद क्षेत्रको समग्र विकासका लागि निम्न विषयमा राज्य तथा सम्बन्धित निकायले विशेष ध्यान दिन आवश्यक देखिन्छः
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने रेफ्री तथा निर्णायकहरूका लागि विशेष “रेफ्री सहायता कोष” स्थापना गरिनु पर्ने।
राष्ट्रिय खेलकुद परिषद्ले खेलाडीसँगै रेफ्री र अफिसियललाई पनि समान प्राथमिकतामा राखी हवाई टिकट तथा तयारी खर्च व्यवस्थापन गर्नुपर्ने।
अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने रेफ्रीहरूलाई प्रोत्साहन, बीमा तथा सम्मान कार्यक्रम लागू गरिनुपर्ने।
निजी क्षेत्र तथा प्रायोजक संस्थालाई रेफ्री विकास कार्यक्रममा जोड्ने नीति ल्याइनुपर्ने।
नेपालमा खेलकुदको दीर्घकालीन विकासका लागि खेलाडी, प्रशिक्षक र रेफ्री—तीनै पक्षलाई समान महत्व दिने खेल नीति आवश्यक रहेको।
प्रेम कोइरालाजस्ता व्यक्तित्वहरू व्यक्तिगत संघर्षका बाबजुद नेपालको झण्डा अन्तर्राष्ट्रिय रंगमञ्चमा फहराइरहेका छन्। उनीहरूको योगदानलाई राज्यले उचित सम्मान, सहयोग र अवसर दिन सके नेपालको खेलकुद क्षेत्र अझ सशक्त र व्यवस्थित बन्न सक्ने देखिन्छ।