ट्रम्प प्रशासनले यौन अपराधी एपस्टाइनसँग सम्बन्धित दशकौँ पुरानो रेकर्ड सार्वजनिक गर्ने
News Desk
Dec-17 , 2025 तारिख 06:38 बिहान

ट्रम्प प्रशासनले आगामी डिसेम्बर १९ मा कुख्यात यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित दशकौँ पुराना सरकारी अभिलेख सार्वजनिक गर्ने तयारी गरिरहेको बताइएको छ।

यस क्रममा एपस्टाइन प्रकरणसँग जोडिएका इमेल, तस्बिर तथा विभिन्न सरकारी कागजातहरू सार्वजनिक गरिनेछन्। ती अभिलेखमार्फत एपस्टाइनसँग जोडिएको सम्पूर्ण नेटवर्कबारे वास्तविकता बाहिर ल्याउने उद्देश्य रहेको जनाइएको छ। उक्त नेटवर्कमा नाबालिग किशोरीहरूको शोषण भएको र विश्वका विभिन्न शक्तिशाली व्यक्तिहरू संलग्न रहेको आरोप लाग्दै आएको छ।

यसअघि डिसेम्बर १२ मा सोही मुद्दासँग सम्बन्धित १९ वटा तस्बिर सार्वजनिक गरिएका थिए। ती तस्बिरहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित पूर्वराष्ट्रपति बिल क्लिन्टन र अर्बपति बिल गेट्सजस्ता चर्चित व्यक्तिहरू देखिएका छन्।

अब एपस्टाइनसँग सम्बन्धित सम्पूर्ण रेकर्ड सार्वजनिक हुन दुई दिन मात्र बाँकी रहँदा अमेरिकामात्र होइन, विश्वभरका राजनीतिक तथा व्यावसायिक वृत्तमा चासो र हलचल बढेको छ।

यसैबीच भारतका नेता सुब्रमण्यम स्वामीले केही भारतीय मन्त्री, पूर्वमन्त्री तथा वर्तमान सांसदहरूको नाम पनि सार्वजनिक हुन सक्ने दाबी गरेका छन्। तर अमेरिकी न्याय विभागले यसबारे कुनै आधिकारिक संकेत दिएको छैन।

एपस्टाइनसँग ट्रम्पको सम्बन्ध

डोनाल्ड ट्रम्प र जेफ्री एपस्टाइन सन् १९८० देखि २००० को सुरुआतसम्म एक–अर्कासँग नजिक थिए र एउटै सामाजिक घेरामा घुलमिल हुन्थे। तर सन् २००४ मा सम्पत्तिसम्बन्धी विवाद भएपछि उनीहरूको सम्बन्ध टुटेको बताइन्छ।

यद्यपि ट्रम्पको नाम विभिन्न कागजातमा उल्लेख भए पनि उनीविरुद्ध हालसम्म कुनै आपराधिक आरोप प्रमाणित भएका छैनन्। सन् २०२४ मा सार्वजनिक गरिएको करिब ९५० पृष्ठको अदालत अभिलेखमा पनि ट्रम्पको नाम आएको छ, तर उनलाई कुनै गैरकानुनी गतिविधिमा दोषी ठहर गरिएको छैन।

धेरै पढिएको