बोन्डी बिच गोलीकाण्डको घटनामा पक्राउ परेका व्यक्तिविरुद्ध​ ५९ वटा अभियोग दर्ता 
News Desk
Dec-18 , 2025 तारिख 06:35 बिहान

अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजना गरिएको यहूदी समुदायको हनुक्का कार्यक्रममा गोलीकाण्ड भएको घटनामा पक्राउ परेका व्यक्तिविरुद्ध प्रहरीले ५९ वटा अभियोग दर्ता गरेको छ।

न्यु साउथ वेल्स प्रहरीले नविद अकरमविरुद्ध दर्ता गरेका अभियोगमध्ये १५ वटा हत्या सम्बन्धी छन्। त्यसैगरी हत्या गर्ने उद्देश्यले गम्भीर शारीरिक क्षति पुर्‍याएको आरोपमा ४० वटा मुद्दा दर्ता गरिएको छ। साथै आतङ्कवादी गतिविधिमा संलग्न भएको, हतियार प्रयोग गरी गोली चलाएको, विस्फोटक पदार्थ राखेको तथा सार्वजनिक रूपमा आतङ्कवादी संगठनको चिन्ह प्रदर्शन गरेको अभियोगसमेत लगाइएको प्रहरीले जनाएको छ।

डिसेम्बर १४ मा हनुक्का महोत्सवको पहिलो रातका क्रममा उक्त गोलीकाण्ड भएको थियो, जसमा एक आक्रमणकारीसहित १६ जनाको मृत्यु भएको थियो। सीसीटीभी फुटेजका आधारमा बाबु–छोरा साजिद अकरम र नविद अकरमले गोली चलाएको पुष्टि भएको प्रहरीको भनाइ छ।

घटनाका क्रममा प्रहरीको जवाफी कारबाहीमा ५० वर्षीय साजिद अकरमको घटनास्थलमै मृत्यु भएको थियो भने छोरा नविद अकरम घाइते अवस्थामा पक्राउ परेका थिए। उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। प्रहरीका अनुसार उपचार पूरा भएपछि मात्र नविदको बयान लिइनेछ। यस घटनासम्बन्धी अदालती प्रक्रिया आगामी अप्रिलसम्मका लागि स्थगित गरिएको छ।

धेरै पढिएको