एशियाभर हजारौँ यात्रु प्रभावितः विभिन्न देशमा १३७ उडान रद्द, २,०२४ उडान ढिलाइ
News Desk
Dec-18 , 2025 तारिख 06:56 बिहान

एशियाका विभिन्न देशमा एकैसाथ देखिएको उडान अव्यवस्थाका कारण हजारौँ यात्रु प्रभावित भएका छन। एयर चाइना, सिङ्गापुर एयरलाइन्स, इन्डिगो, थाइ एयरवेज, जापान एयरलाइन्सलगायत अन्य विमान कम्पनीहरूले ठूलो सङ्ख्यामा उडान रद्द तथा ढिलाइ गरेका छन।

उडान ट्र्याकिङ र क्षेत्रीय सञ्चारमाध्यमहरूका अनुसार चीन, जापान, सिङ्गापुर, भारत, थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्समा गरी १३७ उडान रद्द भएका छन भने २,०२४ उडान ढिलाइ भएका छन। यसले नान्जिङ, टोकियो, दिल्ली, बैंकक, चांगी, जकार्ता र मनिलाजस्ता प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलहरूमा यात्रा अवरुद्ध भएको छ।

भारतको दिल्ली विमानस्थल सबैभन्दा बढी प्रभावित बनेको छ, जहाँ सयौँ उडान ढिलाइ भएका छन। जकार्ता र बैंकक पनि ढिलाइका प्रमुख केन्द्रका रूपमा देखिएका छन। उडान रद्द हुनेमध्ये बेइजिङ क्यापिटल, नान्जिङ लुकोउ, सियान स्यानयाङ र टोकियो हानेडा विमानस्थलहरू अग्रपङ्क्तिमा छन।

भारतमा इन्डिगो एयरलाइन्समा देखिएको सञ्चालनगत समस्या, चालक दल व्यवस्थापन र नयाँ कार्यघण्टा नियमका कारण व्यापक अव्यवस्था उत्पन्न भएको बताइएको छ। यसका कारण यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन भने कम्पनीले ठूलो मात्रामा क्षतिपूर्ति दिनुपर्ने अवस्था आएको जनाइएको छ।

जापानमा हालै देखिएको भूकम्पीय गतिविधि र त्यसपछिको सुरक्षा व्यवस्थाका कारण उडान तालिका समायोजन गर्दा ढिलाइ र रद्दको समस्या देखिएको छ। त्यस्तै, केही देशमा खराब मौसम र विमानस्थलसम्बन्धी प्राविधिक कारणले पनि उडान प्रभावित भएका छन।

उडान रद्द भएपछि जहाज र चालक दलको अभाव, वैकल्पिक विमानस्थलमा चाप बढ्नु र उडान तालिका अस्तव्यस्त हुँदा समस्या झन जटिल बनेको विमानन क्षेत्रका विश्लेषकहरूले बताएका छन। सम्बन्धित विमान कम्पनी र विमानस्थलहरूले यात्रुलाई उडान अवस्थाबारे नियमित जानकारी लिन आग्रह गरेका छन।

यस अव्यवस्थाका कारण आगामी केही दिनसम्म पनि एशियाली हवाई यात्रामा असर पर्न सक्ने अनुमान गरिएको छ।

धेरै पढिएको