जीमेल प्रयोगकर्तालाई असर पर्ने संकेत, गुगलले फ्रि स्टोरेज घटाउने तयारीमा
News Desk
May-16 तारिख 06:42 बिहान • आज

 

भारत l विश्वभर करोडौं मानिसले प्रयोग गर्दै आएको जीमेल सेवामा अब निःशुल्क स्टोरेज घट्न सक्ने संकेत देखिएको छ । गुगलले नयाँ अकाउन्ट खोल्ने प्रयोगकर्ताका लागि उपलब्ध गराइने ‘फ्रि क्लाउड स्टोरेज’ सीमित गर्ने परीक्षण सुरु गरेको विभिन्न रिपोर्टमा उल्लेख गरिएको छ ।

हाल गुगलले प्रत्येक व्यक्तिगत अकाउन्टलाई १५ जीबी निःशुल्क स्टोरेज उपलब्ध गराउँदै आएको छ । यही स्टोरेज जीमेल, गुगल ड्राइभ र गुगल फोटोबीच साझा रूपमा प्रयोग हुने व्यवस्था छ । तर अब यो सीमा परिवर्तन हुन सक्ने देखिएको छ ।

फोन नम्बर नजोड्दा ५ जीबी मात्र स्टोरेज !

रेडिट र एक्समा सार्वजनिक भएका केही प्रयोगकर्ता अनुभवअनुसार गुगलले नयाँ जीमेल अकाउन्ट खोल्ने प्रयोगकर्तामाथि नयाँ नीति परीक्षण गरिरहेको छ । परीक्षणअनुसार यदि प्रयोगकर्ताले आफ्नो अकाउन्टमा मोबाइल नम्बर भेरिफाइ नगरेमा उनीहरूले केवल ५ जीबी मात्र निःशुल्क स्टोरेज पाउनेछन् ।

यद्यपि, फोन नम्बर लिंक गरी अकाउन्ट प्रमाणित गर्ने प्रयोगकर्तालाई भने पुरानै १५ जीबी स्टोरेज उपलब्ध गराइने बताइएको छ । यसले भविष्यमा फोन नम्बर भेरिफिकेशनलाई अझ अनिवार्य बनाउने संकेत गरेको विश्लेषकहरूको भनाइ छ ।

किन यस्तो कदम चाल्दैछ गुगल ?

धेरै प्रयोगकर्ताले अतिरिक्त स्टोरेज खरिद नगरी विभिन्न जीमेल अकाउन्ट बनाएर निःशुल्क स्टोरेज बढाउने अभ्यास गर्दै आएका छन् । कम्पनीले यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न नयाँ नीति ल्याउन खोजेको अनुमान गरिएको छ ।

केही प्रयोगकर्ताले भने गुगलले थप व्यक्तिगत डेटा संकलन गर्ने उद्देश्यले यस्तो नीति परीक्षण गरिरहेको आरोप लगाएका छन् । अर्कोतर्फ, समर्थकहरूले यसले नक्कली तथा स्पाम अकाउन्ट नियन्त्रण गर्न सहयोग पुग्ने बताएका छन् ।

अहिले कहाँ भइरहेको छ परीक्षण ?

रिपोर्टअनुसार यो परीक्षण हाल अफ्रिकी मुलुक केन्या र नाइजेरियाका केही सीमित प्रयोगकर्तामाझ मात्रै लागू गरिएको छ । कम्पनीले विश्वव्यापी रूपमा लागू गर्नु अघि परीक्षणका रूपमा यो कदम चालिरहेको हुन सक्ने अनुमान गरिएको छ ।

हालसम्म भने जीमेलको आधिकारिक सपोर्ट पेजमा नयाँ प्रयोगकर्ताले १५ जीबी निःशुल्क स्टोरेज पाउने व्यवस्था यथावत् रहेको उल्लेख गरिएको छ ।

गुगलको प्रतिक्रिया

एन्ड्रोइड अथोरिटीसँग कुरा गर्दै गुगलका एक प्रवक्ताले केही क्षेत्रका नयाँ अकाउन्टमा नयाँ स्टोरेज नीतिको परीक्षण भइरहेको स्वीकार गरेका छन् । उनका अनुसार यसले प्रयोगकर्तालाई उच्च गुणस्तरको स्टोरेज सेवा उपलब्ध गराउनुका साथै अकाउन्ट सुरक्षा र डेटा रिकभरी प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत गर्नेछ ।

गुगल वन योजनाको मूल्य

भारतमा गुगल वनको ३० जीबी स्टोरेज भएको ‘लाइट’ योजना प्रतिमहिना ५९ भारतीय रुपैयाँमा उपलब्ध छ । त्यस्तै १०० जीबी ‘बेसिक’ योजना १३० रुपैयाँ प्रतिमहिना तथा २ टेराबाइट ‘प्रिमियम’ योजनाको मूल्य ६५० रुपैयाँ प्रतिमहिना रहेको छ ।