News Desk
स्थानीय अधिकारीका अनुसार आगलागी क्वानझाउ सहरअन्तर्गत जिनजियाङको चेन्डाई नगरस्थित जियान्टाउ गाउँमा रहेको जुत्ता कारखानामा बिहीबार दिउँसो करिब १२:०४ बजे सुरु भएको थियो। आगो लागेपछि केही समयमै सम्पूर्ण भवन धुवाँ र आगोले ढाकिएको थियो।
दमकल तथा उद्धार टोली तत्काल घटनास्थलमा पुगे पनि आगो अत्यधिक फैलिएकाले भवनभित्र प्रवेश गरी उद्धार कार्य सञ्चालन गर्न कठिनाइ भइरहेको जनाइएको छ। समाचार तयार पार्दासम्म आगो नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको थियो। घटनास्थलमा ठूलो सङ्ख्यामा दमकल, एम्बुलेन्स तथा सुरक्षा निकाय परिचालन गरिएको छ।
प्रारम्भिक विवरणअनुसार कारखानाभित्र धेरै कामदार रहेको अनुमान गरिएको छ। तर, कति व्यक्ति सुरक्षित बाहिर निकालिए, कति अझै फसेका छन् वा घटनामा कति जनाको ज्यान गएको छ भन्नेबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको उद्धार अधिकारीहरूले बताएका छन्।
घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बन्धित निकायलाई आगलागी तत्काल नियन्त्रणमा लिन, भवनभित्र फसेका व्यक्तिहरूको सुरक्षित उद्धार गर्न तथा घाइतेको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन दिएका छन्।
राष्ट्रपति सीले दुर्घटनाको वास्तविक कारणको निष्पक्ष अनुसन्धान गर्न, सम्भावित लापरवाही वा कमजोरी पहिचान गर्न तथा दोषी देखिए कानुनबमोजिम कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
आगलागीको कारण र क्षतिको विस्तृत विवरण उद्धार कार्य सम्पन्न भएपछि सार्वजनिक गरिने जनाइएको छ।