News Desk
काठमाडौँको एक होटलमा माघ २७ गते मृत अवस्थामा फेला परेकी प्रमिला दमाईको विवाहपछिको सम्बन्धका कारण हत्या भएको प्रहरीले बताएको छ।
सोमवार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी परिसर काठमाडौँले यसबारेमा जानकारी गराएको हो। माघ २७ गते काठमाडौँ महानगरपालिका वडा नम्बर ९ गौशाला रुन्चे डाँडास्थित एक होटलमा प्रमिला दमाईको शव फेला परेको थियो।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले हत्यामा संलग्न भएको आरोपमा दोलखा वैद्येश्वर गाउँपालिका ७ घर भइ काठमाडौँ डेरा गरी बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान थालेको बताए।
ती महिला रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नम्बर ५ घर भइ हाल काठमाडौँ महानगरपालिका ९ भीमसेनगोलामा डेरा गर्दै बस्दै आएकी थिइन्।
एसएसपी खत्रीकाअनुसार प्रमिला र कुमारबीच दोलखाको एक रेडियो कार्यक्रममार्फत चिनजान भएको थियो।
दुवै विवाहित रहेको प्रहरीले बताएको छ। उनले पछिल्लो समय प्रमिलाले आफूसँग विवाह गर्न दबाब दिएपछि कुमारले हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।