जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा २७७ जना पक्राउ
News Desk
Mar-25 , 2024 तारिख 11:47 बिहान

प्रहरीले होली पर्व मनाउने क्रममा आज जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा २७७ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा २६२ जना पुरुष र १५ जना महिला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिएका छन।

खत्रीले भने, ‘आज कानुनविपरीत काम गर्ने २७७ जनालाई हामीले नियन्त्रणमा लिएका छौँ, पक्राउ परेकाहरूको अवस्था हेरेर केहीलाई आजै परिवारको जिम्मा लगाइने र केहीको हकमा मुद्दासमेत दायर हुनेछ।’

यसैगरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज ६६४ वटा सवारीसाधनलाई नियन्त्रणमा लीएको जनाएको छ। यसमा चारपाङ्ग्रे ६४९ तथा दुई पाङ्ग्रे १५ वटा रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

लापसे, मापसे गरी सवारीसाधन चलाउने तथा सवारीसाधनका कागजपत्र नबोक्ने, हेल्मेट नलगाई सवारी चलाउनेका सवारीसाधन नियन्त्रणमा लीएको प्रहरीले जनाएको छ। होली पर्वलाई सुरक्षित बनाउने भन्दै प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाएको थियो।

ट्राफिक चेकिङदेखि सादा पोसाकसहित गरी कुल ३ हजार प्रहरी खटाइएको थियो भने ड्रोनबाट निगरानी गरिएको थियो।

 

 

धेरै पढिएको