News Desk
नयाँ दिल्ली — कार्तिक २६, २०७७।
संस्थाभन्दा व्यक्ति ठूलो हुन सक्दैन । खेलकुदको हिसाबमा सिधा भन्नुपर्दा क्लबभन्दा खेलाडीहरू ठूलो हुन सक्दैनन् । जब रोहित शर्मा र मुम्बई इन्डियन्सलाई लिएर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको प्रसंग आउँछ तब यो अपवाद हुन्छ ।
मुम्बईले मंगलबार दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गरी आईपीएलको उपाधि जितेको थियो । १३औं संस्करणको आईपीएलमा मुम्बईको यो ‘हाइ फाइभ’ थियो । अर्थात् मुम्बईले पाँचौं पटक उपाधि जितेको थियो । टोलीले सर्वाधिक जित्ने कीर्तिमान अझ बलियो बनायो ।
रोहित मुम्बईभन्दा पनि माथि छन्, कम्तीमा उपाधिका हिसाबमा यो भन्न सकिन्छ । २००९ को आईपीएलको दोस्रो संस्करण उनले डेक्कन चार्जर्सबाट खेल्दै जितेका थिए । उनी आएपछि मुम्बईले २०१३ मा आफ्नो पहिलो उपाधि जितेको थियो । मुम्बईले जितेको पाँचमध्ये चार उपाधि ३३ वर्षे रोहितकै कप्तानीमा छ । फाइनलपछि उनले कप्तानको रूपमा पनि ३ हजार रन पूरा गरेका थिए । यस्तो आँकडा छुने चेन्नई सुपर किंग्सका महेन्द्रसिंह धोनी र रोयल च्यालेन्जर्स बेंग्लोरका विराट कोहलीमात्र हुन् ।

दिल्लीसँग फाइनलमा रोहितको आईपीएलमा २ सय खेल थियो । चेन्नईका कप्तान धोनीले आईपीएलका २ सय ४ खेलमा सहभागिता जनाएका छन् । उनी रोहितभन्दा बढी खेल्ने एकमात्र खेलाडी हुन् । फाइनललाई रोहितले झनै स्मरणीय बनाए । उनले ५१ बलमा ६८ रन बनाएपछि फाइनलमा दिल्लीले दिएको १ सय ५६ रनको लक्ष्य मुम्बईले सजिलै पछ्याएको थियो ।
फाइनलमा ६ रन बनाएपछि उनले मुम्बईबाटै आईपीएलमा ४ हजार रन पार गरे । उनले मुम्बईबाट अहिलेसम्म ३१ अर्धशतक र एक शतक बनाइसकेका छन् ।
जबकि रोहितका लागि व्यक्तिगत हिसाबमा यस सिजनको आईपीएल विगतको उपाधि यात्रा जस्तो ‘उत्कृष्ट’ नै चाहिँ थिएन । उनी चोट र फर्मका लागि संघर्षरत रहे । उनले यस सिजनमा कुल १२ खेलमात्र खेले र ३ सय ३२ रन बनाए । मुम्बईको उपाधि यात्रामा इशान किशनले ५ सय १६, क्विन्टन डी ककले ५ सय ३ र सूर्यकुमार यादवले ४ सय ८० रन बनाए । उनले चोटका कारण मुम्बईबाट केही खेल गुमाए । उनी चोटग्रस्त भनेर भारतले अस्ट्रेलिया जाने टोलीमा समावेश गरेको छैन ।
सर्वाधिक आईपीएल उपाधि जित्ने टोलीको रूपमा मुम्बईलाई पछ्याइरहेको चेन्नईको नाममा तीन उपाधि छ । मुम्बईले दुबईमा मंगलबार उपाधि यात्राका क्रममा चेन्नईको लगातार दुई उपाधिको कीर्तिमान पनि बराबरी गरेको थियो । चेन्नईले २०१० र २०११ मा गरी लगातार उपाधि जितेको थियो । मुम्बईले गत वर्ष चौथो उपाधि जित्दा चेन्नईलाई नै फाइनलमा १ रनले पराजित गरेको थियो ।
मुम्बई पहिलोपालि २०१० मा जब आईपीएल फाइनलमा पुगेको थियो, त्यतिबेला टोली चेन्नईसँग २२ रनले पराजित भएको थियो । त्यसको अर्को वर्षमात्र रोहित डेक्कनबाट मुम्बई आएका थिए । रोहितले त्यो सिजन टोलीका सबै १६ खेल खेल्दै १ सय २५ भन्दा माथिको स्ट्राइक रेटमा ३ सय ७२ रन बनाए पनि मुम्बई दोस्रो क्वालिफायरमा बेंग्लोरसँग पराजित भएको थियो । सन् २०१५ मा रोहितको कप्तानीमा मुम्बईले पहिलोपल्ट उपाधि जित्दा फाइनलमा चेन्नईविरुद्ध २६ बलमा ५० रन बनाएका थिए ।
पोलार्ड सर्वाधिक सफल
ट्वान्टी–२० उपाधि जित्नेमा भने रोहित आफ्नै टोलीका किइरन पोलार्डभन्दा धेरै पछाडि छन् । दुबईमा मुम्बईले पाएको सफलता वेस्ट इन्डिजका पोलार्डको हकमा ट्वान्टी–२० मा १५औं उपाधि थियो । पोलार्डले आफ्नै देशका ड्वाइने ब्राभोको नाममा रहेको १४ कीर्तिमान उछिनेका हुन् । रोहितको नाममा ट्वान्टी–२० को १० उपाधिमात्र छ ।

ब्राभोका लागि यसपालिको आईपीएल खासै सम्झनलायक बनेन । उनी प्रतियोगिता सुरुआत हुँदा चोटग्रस्त थिए भने राउन्ड रोबिन लिगको अन्तिम चरणका केही खेल पनि उनले चोटकै कारण गुमाए । यसको मूल्य चेन्नईले चर्को चुकाउनुपर्यो । चेन्नई आईपीएलको प्लेअफमा पहिलोपल्ट पुग्न सकेन । राउन्ड रोबिन लिगमा आठमध्ये टोली सातौं स्थानमा थियो ।
पोलार्ड र ब्राभो ट्वान्टी–२० मा सर्वाधिक उपाधि जित्ने खेलाडी बन्नुमा उनीहरू विश्वका लगभग सबै फ्रेन्चाइज खेल्नु पनि एक कारण हो । भारतीय खेलाडीका लागि घरेलु ट्वान्टी–२० भनेको आईपीएलमात्र हो । भारतीय क्रिकेट बोर्डले आफ्ना खेलाडीलाई अर्को देशको लिगमा गएर खेल्न रोक्दै आएको छ । जबकि पोलार्ड र ब्राभोसहित अन्य देशका खेलाडी विश्वका लगभग सबै फ्रेन्चाइज लिगमा निस्फिक्री खेल्दै आएका हुन्छन् ।
पाकिस्तानका सोएब मलिकले १२ र श्रीलंकाका लासिथ मालिङ्गाले ९ ट्वान्टी–२० लिग जितेका छन् । मालिङ्गा जारी आईपीएलमा मुम्बईकै टोलीमा थिए । तर पारिवारिक कारण उनी यसपालि आईपीएल खेल्न यूएई गएनन् ।
(कान्तिपुर दैनिक)