काठमाडौं विश्वविद्यालयमा अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारितामा स्नातक कार्यक्रम सुरु
News Desk
Jan-07 , 2025 तारिख 07:44 बेलुका

पौष २३, २०८१  काठमाडौं | काठमाडौं विश्वविद्यालयले अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता विषयमा स्नातक तहको कार्यक्रम सुरु गरेको छ। विश्वविद्यालयको कला संकाय अन्तर्गत भाषा तथा आमसञ्चार विभागले सञ्चालन गर्ने यो कार्यक्रमका कक्षा माघ महिनादेखि सुरु हुनेछन। चार वर्षे यो कार्यक्रम सेमेस्टर प्रणालीमा आधारित छ, जसमा आठ सेमेस्टरको पठनपाठन हुनेछ। विद्यार्थीहरूले एउटै शैक्षिक उपाधिबाट अङ्ग्रेजी तथा आमसञ्चार र पत्रकारिता विषयमा विशिष्ट ज्ञान र सीप हासिल गर्न सक्नेछन। कक्षा १२ वा सो सरहको अध्ययन पूरा गरेका विद्यार्थीहरूका लागि यो कार्यक्रम खुला गरिएको छ भने भर्नाका लागि जम्मा २० जना विद्यार्थीहरूलाई मात्र समावेश गरिने व्यवस्था गरिएको छ।

यस विभागले यसअघि मिडिया अध्ययनमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। साथै, सञ्चार, अङ्ग्रेजी र नेपाली भाषामा विद्यावारिधि कार्यक्रमहरू पनि उपलब्ध गराउँदै आएको छ। विभागले चलचित्र निर्माण, प्राज्ञिक लेखन, तथा सञ्चार सिद्धान्तको मौलिककरण लगायतका विषयमा अल्पकालीन शैक्षिक कार्यक्रमहरू पनि सञ्चालन गर्दै आइरहेको छ। विभागीय प्रमुख डा। निर्मलमणि अधिकारीका अनुसार यो कार्यक्रमले विद्यार्थीहरूलाई बहुआयामिक ज्ञान र सीप प्रदान गर्दै आमसञ्चार तथा पत्रकारिता क्षेत्रमा व्यावसायिक दक्षता विकास गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नेछ। उनका अनुसार विभागले आधुनिक शैक्षिक प्रणालीको प्रयोग गर्दै शिक्षण–शिक्षण प्रक्रियालाई व्यावहारिक र अनुसन्धानमुखी बनाउने लक्ष्य राखेको छ।

भाषा तथा आमसञ्चार विभाग, काठमाडौं विश्वविद्यालयको कला संकाय अन्तर्गत रहेको छ, जसले सञ्चार सिद्धान्त, लेखन कला, र चलचित्र निर्माणमा विशेष ध्यान दिएको छ। विभागले आगामी दिनहरूमा पनि सञ्चार र पत्रकारिता क्षेत्रको स्तरवृद्धि गर्ने उद्देश्यसहित नयाँ कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ।

धेरै पढिएको

Related Post