निर्वाचनले बुझ्न नसकेका पात्रहरू
News Desk
Sep-27 तारिख 07:24 बिहान

 

- कुमार दाहाल 

    २०४३ साल तिरकाे कुरा हो । देशभर गाउँ र नगर पञ्चायतको निर्वाचन हुँदै थियो।  प्रधानपञ्च ,उपप्रधानपञ्च, नसस,गाससको प्रत्यक्ष चुनाव  तय थियो। चन्द्रगढी -६ निवासी रत्नबहादुर कार्की (रत्ने) प्रधानपञ्चको उम्मेदवार थिए। उनको चुनावचिन्ह  मादल लिएर  बजाउँदै घर घरमा पुग्थे। सबैले उनलाई भोट दिने वचन दिन्थे। उनी रसिला थिए। हँसिला थिए। उनी भन्थे प्रधानपञ्चमा यसपाली स्याेेर छ।  चुनाव भयो तर उनको जमानत समेत जफत भाे ।  त्यो समयका चन्द्रगढी  भेगका मान्छेहरु आज पनि उनलाई बेलाबेला सम्झन्छन्।  भोट दिन्छु भनेर आश्वासन दिने मान्छेहरुले उनलाई किन भोट दिएनन ? आजको प्रजातान्त्रिक चुनाब पद्धतिमा यो विषय त्यस्तै अनिश्चित छ। याे अनिश्चितता नै प्रजातन्त्रको सुन्दर पक्ष हाे। 

     
       अब्राहम लिङ्कनले भनेका थिए । "जनताकोलागि, जनताकाे, जनताद्वारा,,"पद्धति नै प्रजातन्त्र हो। यो चिन्तन उनले २४ पटककाे हार पछि राष्ट्रपतिको जितमा उदगार गरेका शब्द थिए ।  पहिलोचोटि चुनाव हार्दा पनि अमेरिकामा प्रजातन्त्र स्थापित थियो। उनले अनगिन्ती हारकाे अनुभवले जन्मेको याे चिंतन  हामी सजिलै अनुभूत गर्छौं। र जनताको आशय माथि आफ्नै परिभाषा दिन्छौं । यहीँनेर जनता, राजनीतिक दल र नेताको बिचमा दंडात्मक सम्बन्ध बढ्छ। हामीले चुनावमा प्रजातान्त्रिक अभ्यास कति गर्यौ र गर्दैछौं।  बाचा , प्रतिबद्धता, विकास, सुधार बिर्सेर फेरि भोट  माग्न जाँदा ति विश्वासका मतहरू अमुक बन्न थाल्छन् तर जनताले नेतालाई आफ्नो मतको विश्वास दिलाई रहन्छन। यो अमूकतालाई उम्मेदवारहरुले आफ्नै दृष्टिकोणले हेर्छन ।  त्यसैले निर्वाचनमा थुप्रै दल र उम्मेदवारहरुकाे उम्मेदवारी पर्छ । यो  प्रजातन्त्र प्रतिको विश्वास त हो तर निर्वाचनका वास्तविक पात्रहरूलाई बुझ्न नसक्नु त्यो भन्दा ठूलो कमजोरी हो । 

       

       निर्वाचनको बेला जनताले नेताको आसयलाई बुझ्छन् र त्यसैअनुसारको प्रतिक्रिया दिन्छन्  । तर दलका नेताहरु  यो आश्वासन लाई आफ्नै मत ठान्ने गर्छन् । जुन  प्रजातान्त्रिक चुनाव पद्धतिमा आजसम्म असफल भएको धारणा हो । कृष्णप्रसाद भट्टराईलाई २०५१ सालमा जनताले हराएका थियनन । जनताको आशय हराउने थिएन। त्यसपछि  कांग्रेस दलले  निकै ठूलो क्षति पनि बेहोर्नुपर्यो।  राजनीतिक दल, र प्रतिनिधिले जनताको आशय  बुझ्दैनन् भन्ने कुरा राजनीतिले मान्दैन ।तर उनीहरु जनता भन्दा पनि राजनीति स्वार्थमा बढी देखिन्छन। राजनीति स्वार्थ जनताको हितकै लागि छ भन्ने कुरा पञ्चायत, प्रजातन्त्र, गणतन्त्र र आजको  निर्वाचनमा भाग लिने राजनीतिक दलहरुले समेत जनतालाई सन्देश दिन सकेका छैनन्। 

     
      अहिले राजनीतिक दलहरुलाई उम्मेदवार दिन पनि हम्मेहम्मे परेको छ।  बालेन र हर्क साम्माङकाे जितले उनीहरूको राजनीतिक विरासत नै हल्लिएको छ ।किनकि स्थापित राजनीतिक दलहरुले समेत निर्वाचनका वास्तविक पात्रहरूको मन जित्न सकेनन।  चुनावमा राजनीति भन्दापनि जनताको उत्साह र आदर्शको मतले निकै फरक पार्दैछ । जुन फरक आगामी निर्वाचनमा निकै स्पष्ट देखिन्छ भन्ने कुरा निश्चित छ।  चुनावमा मत  दिने पात्रहरू आफ्नो समर्थनमा छन् भन्ने कुरा नेपाली राजनीतिले मात्र होइन  विश्वको राजनीति नै समेत आजसम्म नबुझेको विषय हो। यही कारणले चुनाव प्रचार , प्रसार आकर्षक  र निकै महँगो हुने गर्छ । तर विवेक प्रयोग गर्ने जनता चुनावी आकर्षणबाट टाढा रहन्छन्। त्यसैले प्रजातन्त्रिक चुनाव पद्धतिमा धादली नहुने हो भने जनताको यथार्थ मत जाहेर हुन्छ। दुईतिहाईको सरकार समेत पुर्ण अवधि सम्म नचल्नुमा जनताको विवेकको उपहास  नेपालमा धेरै पटक भएको छ। यसको मुख्य कारण  नेताहरुले जनताको मत र आशयलाई नबुझ्नु नै हो।

     
        भारतको पहिलो लोकसभाको निर्वाचनकाे विषयमा नेहरूसँग गान्धीको स्पष्ट मत थियो।" हिंसा गरेर सत्ता प्राप्त नगर"। यही अहिंसाले अंग्रेजलाई भारत छोड्न बाध्य पारेको थियो । सुरुमा अंग्रेजहरुले अहिंसाको अर्थ गहिरो राजनीति हो भन्ने कुरा थाहै पाएनन्। तर गीता दर्शनका ज्ञाता गान्धी प्रजातन्त्रको परिभाषा अहिंसामा खोज्दथे। जुन राजनीतिक दर्शन आज विश्व राजनीतिको आदर्श बनेको छ। यथार्थमा जनता यही चाहन्छन। हिंसा  भनेको काट्नु, मार्नु, हेप्नु मात्र होइन।  गलत प्रचार गर्नु, भ्रष्टाचार छोप्नु ,झुटो बोल्नु, चन्दा उठाएर जित्नु, झुठो आश्वासन दिनु आदि पनि राजनीतिमा हिंसा हुन्। माहात्मा गान्धीको प्रजातन्त्र परिभाषा फराकिलो थियो। जब यिनै विषयहरु राजनीतिमा हाबी हुन थाले। विशेष गरेर हाम्रो जस्तो देशमा। त्यसपछि जनताले आफ्नो मतको अदृश्य र मौन प्रयोग  गर्न थाले।  जुन मौन पात्रलाई निर्वाचनले चिन्दैन। मात्र उसको मत गणना हुन्छ। यदि यसो नहुने हो भने प्रजातन्त्र लाई पनि राजनीतिक दलले आफ्नै पोल्टामा राखिदिन्थे।  जुन रहस्य प्रजातन्त्रले सधैंभरि आफैँभित्र राख्ने गर्छ।

   
      राजनीति दलहरु समेत निर्वाचनको बेला आफ्नो मतको विषयमा स्पष्ट हुनसक्दैनन् ।  किनकि चुनावको हार र जित कार्यकर्ताको मतबाट मात्र हुँदैन।  विजयका निर्णायक मतहरु चिन्न सक्नु नै उम्मेदवारको सफलता हो । नेपालको राजनीति, नेता र नेतृत्वमा  राजनीति गुण भन्दापनि उम्मेदवारहरुकाे गुणले विजयमा फरक  पार्दै गएको छ। जुन विषय हामीले स्थानीय निर्वाचनमा देखिसकेका छौं। 

     
        राजनीति वा स्वतन्त्र नेताबाट  ग्रे लाइनका  मतलाई तान्न  आश्वासन र प्रतिबद्धताहरू देखाइन्छ।  ग्रे  लाइनकाे मतले सधैभरि निर्वाचनमा विवेकको प्रयोग गरेको देखिन्छ। यो ग्रे लाइन राजनीति भन्दा पनि मतको समयअनुसार उपयोग गर्ने वर्ग हो  । प्रजातन्त्रिक चुनावकाे रहस्यमय पक्ष यही हाे। जुन  विवेक हामीले विगतका निर्वाचनहरुमा देखिसकेका छौं ।उनीहरुले कांग्रेस, एमाले र माओवादीहरुलाई दुई तिहाइ र बहुमत दिएर सत्तामा पूराइ सकेका छन्। निर्वाचनका यिनै बुझ्न नसकिँने मत् र  पात्रहरूले विजयी गरेका हुन्। तर यो विषय नेपाली राजनीति र उम्मेदवारले कहिल्यै बुझ्न सकेनन् । उनीहरु अझैपनि पैसा खर्च गरेर चुनाव जितिन्छ भन्नेमा विश्वस्त छन्।  यसको प्रत्यक्ष प्रभाव नेपालमा भ्रष्टाचार ,कुशासन भएको छ। जब दलहरुले यो कुरा बुझ्छन्। जनताले  बुझ्छन्।त्यसपछि मात्र निर्वाचनमा  जनताको यथार्थ मत प्रबल हुन्छ।   राजनीति प्रतिको असन्तुष्टिले ग्रे लाइन फराकिलो बनाउँदैछ।। जसको अवसर स्वतन्त्र उम्मेदवारले लिने मौकामा छन्। तर स्वतन्त्र उम्मेदवारहरुले समेत विगतमा जस्तै अहिले पनि निर्वाचनका वास्तविक मत र पात्रहरू चिन्नलाई गाह्रो पर्नेछ। किनकि प्रत्येक राजनीतिक र पद्धतिको परिवर्तनमा यो वर्गको ठुलो हात छ ।