प्रचण्डको प्रस्ताव : पार्टी पुनर्गठनमा जेनजीलाई कोटा
News Desk
Sep-22 , 2025 तारिख 11:22 बिहान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको पुनर्गठनमा जेनजी र युवालाई अनिवार्य रूपमा समेट्ने प्रस्ताव अघि सारेका छन्। पेरिसडाँडामा आइतबार बसेको आकस्मिक पदाधिकारी बैठकमा उनले पछिल्ला राजनीतिक घटनाक्रमले नयाँ पुस्ताको सक्रिय सहभागिता आवश्यक बनाएको बताए।

प्रचण्डले वडा, पालिका, जिल्ला र प्रदेश तहका अधिवेशनमा जेनजी र युवाका लागि छुट्टै कोटा तोक्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टीलाई जरैदेखि पुनःसंरचना गर्ने विचार प्रस्तुत गरे। उनले एक साताभित्रै केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएर निर्णय गर्नुपर्ने प्रस्ताव राखेका छन्।

उनका अनुसार अहिलेका सबै समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउनुपर्ने समय आएको छ। एक पदाधिकारीका भनाइमा प्रचण्डले भनेका छन्, “अहिलेकै केन्द्रीय, स्थायी समिति र पदाधिकारीलाई खारेज गरेर आयोजक समिति गठन गरौँ र संयोजक मात्रै रहने व्यवस्था गरौँ।”

भदौ २३ र २४ मा जेनजीले देशका विभिन्न जिल्लामा प्रदर्शन गरेका थिए। दोस्रो दिनको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीको गोली चल्दा झडप चर्किएको थियो। त्यसैको चपेटामा परेर प्रधानमन्त्री केपी शर्मा ओलीले पदत्याग गर्नुपर्‍यो भने सुशीला कार्की अन्तरिम सरकार प्रमुख बनेकी छन्। उनले संसद् विघटन गरी आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन मिति तोकेकी छन्।

बैठकमा प्रचण्डले प्रत्यक्ष निर्वाचनसहितका विषय पहिल्यै माओवादीले उठाएको भए पनि अहिले जेनजीले पुनः उठाएको बताए। उपमहासचिव जनार्दन शर्माले भने महाधिवेशन बोलाउन माग गर्दै आएका छन्। जेनजीको आन्दोलनपछि प्रचण्डमाथि राजीनामाको दबाब बढ्दै गएको छ।

 

धेरै पढिएको